टोकियो – जापानस्थित नेवाः समुदायको सक्रिय संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले नेपाली परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यसाथ सामूहिक गुफा (बारा) कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अप्रिल १२ र १३ तारिख टोकियोको ईचिगायामा अवस्थित बौद्ध बिहारमा आयोजना गरिएको हो ।
नेवारी परम्परा अनुसार, बालिकाहरूले किशोरावस्थामा प्रवेश गरेपछि उनीहरूलाई सूर्यसँग प्रतीकात्मक विवाह गराइने परम्पराअनुरूप गुफा (बारा) राख्ने चलन छ । परम्परागत रूपमा १२ दिनसम्म अँध्यारो कोठामा बालिकालाई राख्ने चलन भए पनि, हालको समय अनुसार एक रातको अवधिमा कार्यक्रम सम्पन्न गर्ने प्रचलन बढ्दो छ । यसै अनुरूप, जापानमा पनि एक रातको गुफा राखी विधिपूर्वक पूजा तथा सूर्य दर्शन सम्पन्न गरिएको हो ।कार्यक्रममा पाँचजना बालिकाहरूलाई सामूहिक रूपमा गुफा राखिएको थियो । १३ तारिखका दिन बिहान विधिपूर्वक सूर्य दर्शन गराएर गुफाको समापन गरिएकाे थियो । संस्थाका महासचिव शिव तण्डुकारका अनुसार, कार्यक्रममा टोकियो मात्र नभई टोकियो बाहिरका विभिन्न शहरहरूबाट समेत सहभागिता जनाइएको थियो । यसअघि, संस्थाले मार्च १ मा सामूहिक बेल विवाह (ईही) तथा ब्रह्मचार्य संस्कार (ब्रतबन्ध) कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
संस्थाका अध्यक्ष रूपेश डंगोलले, नेपालमा नयाँ रूपले प्रचलनमा आएको छोटो अवधिको गुफा परम्परा जापानमा पनि अनुसरण गर्दै, बालिकाहरूलाई परम्परागत संस्कारमा सहभागी गराउने कार्यलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रमको अन्त्यमा सहभागी बालिकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने, संस्थापक अध्यक्ष माधव मानन्धर र पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धरद्वारा स्मृति उपहार वितरण गरिएको थियो ।
संस्थाको यो प्रयासले परदेशमा बसेका नेपालीहरूमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति गर्व जागृत गराउनुका साथै भावी पुस्तालाई समेत संस्कारमा जोड्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।