आजको विश्व परिवेशमा खेलकुद केवल शारीरिक तन्दुरुस्ती वा मनोरञ्जनको माध्यममात्र रहेन, यो राष्ट्र निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, सांस्कृतिक आदान-प्रदान तथा आर्थिक समृद्धिको एउटा बलियो माध्यमको रूपमा स्थापित भइसकेको छ । खेलकुदले विश्व समुदायमा राष्ट्रको छवि निर्माण गर्नेमात्र होइन, आपसी सहकार्य, सद्भाव र मित्रताको सेतुका रूपमा कार्य गर्दछ ।
खेलकुदले कुनै पनि राष्ट्रको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न गहिरो योगदान पुर्याउँछ । जब कुनै देशका खेलाडीले ओलम्पिक, विश्वकप, एसियन गेम्स, राष्ट्रमण्डल खेलजस्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा सहभागिता जनाउँछन् र उल्लेखनीय सफलता हासिल गर्छन्, तब त्यो केवल व्यक्तिगत उपलब्धि भएर सीमित रहँदैन- त्यो सम्पूर्ण राष्ट्रको गौरव र आत्मसम्मानको विषय बन्छ । एक खेलाडीको झन्डामुनि विजयले राष्ट्रिय झण्डालाई विश्व मञ्चमा फहराउने अवसर दिन्छ, जसले देशको प्रतिष्ठा उच्च बनाउँछ ।
यतिमात्र होइन, खेलकुद राष्ट्रहरूबीचको सम्बन्ध सुदृढ गर्ने एक प्रभावकारी यन्त्रको रूपमा पनि स्थापित भएको छ । जहाँ कूटनीति कहिलेकाहीँ असफल हुन्छ, त्यहाँ खेलकुदले सम्बन्धको नयाँ ढोका खोल्ने सम्भावना पैदा गर्छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा सहभागी राष्ट्रबीच सहयोग, सम्मान र आपसी समझदारीको भावना विकसित हुन्छ, जसले दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धको आधार तयार गर्छ ।
खेलकुदले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र आर्थिक प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान दिन्छ । कुनै देशले ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्दा त्यसले पर्यटकीय गतिविधिमा बृद्धि ल्याउँछ, देशको भौतिक पूर्वाधार सुधार हुन्छ, स्थानीय व्यवसाय फस्टाउँछ र रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । यस्ता अवसरले देशको आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउँछ भने विश्वमा देशको आकर्षण पनि बढाउँछ ।
खेलकुदको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहन गर्नु हो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विश्वका विभिन्न देशहरू एकै स्थानमा भेला हुन्छन्, जसले एकअर्काको भाषा, संस्कृति, रहनसहन र मूल्यमान्यताको आदानप्रदान हुने वातावरण तयार गर्छ । यस प्रकारको अन्तरक्रियाले वैश्विक समझदारी र सहिष्णुताको भावना बलियो बनाउँछ ।
अन्ततः, खेलकुद केवल प्रतियोगिताको सीमित परिधिमा सीमित नरही, सामाजिक एकता, राष्ट्रिय समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा केन्द्रित बहुआयामिक प्रभाव राख्ने क्षेत्र हो । यसले युवापुस्तालाई अनुशासन, परिश्रम, सहकार्य र नेतृत्वजस्ता जीवनोपयोगी मूल्यहरू सिकाउँछ, जुन राष्ट्रिय विकासको मेरुदण्ड बन्न सक्छ ।
तसर्थ आजको युगमा प्रत्येक राष्ट्रले खेलकुद क्षेत्रलाई केवल वैकल्पिक माध्यमको रूपमा होइन, विकासको एक अनिवार्य पाटोको रूपमा लिनुपर्छ । खेल पूर्वाधारमा लगानी, खेलाडीहरूको प्रशिक्षणमा सुधार र खेलकुद नीति निर्माणमा दीर्घकालीन सोच आवश्यक छ । यस्तो पहलले मात्र राष्ट्रलाई विश्व मञ्चमा सम्मानजनक स्थान दिलाउन सक्छ ।
- लेखक पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष हुन् ।