काठमाडौं – तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई १२ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासबाट दिइएको आदेशअनुसार, प्रहरीले प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि १२ दिनसम्म थुनामा राख्न पाउनेछ । उनीसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्काका लागि पनि प्रहरीले सोही अवधिको म्याद माग गरेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राख्नुपर्ने मागसहित अदालतमा पेश गरेपछि सो अनुरूप म्याद थप गरिएको हो ।
यसअघि यही घटनासँग जोडिएका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई गत चैत २६ गते पक्राउ गरिएपछि १५ दिनको म्याद थप गरिएको थियो । प्रसाईंको हिरासत अवधि उनीहरूसँग मिलाउनका लागि प्रहरीद्वारा समय माग गरिएको जनाइएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको हो ।