समाचार सुन्नुहोस :
काठमाडौँ – सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर स्पष्टिकरण लिनुपर्ने माग अघि सारेका छन्। घटनापछि उठेका प्रश्नहरूको जवाफ दिन शाहलाई संसदीय समितिमा बोलाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ। कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वराजालाई उपस्थित गराई घटनाबारे सोधपुछ गर्नुपर्ने धारणा राखे। उनले भने, “पूर्वराजा ज्ञानेन्द्रलाई समितिमा बोलाएर घटनाका विषयमा छलफल गरौँ।”
उनले ज्ञानेन्द्रलाई समान नागरिक अधिकार प्राप्त भएको भन्दै थपे, “लोकतन्त्रलाई आक्रमण गर्ने वा अराजकता मच्चाउने अधिकार कसैलाई छैन।” यस्तै, कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले समेत तीनकुने घटनाका सम्बन्धमा पूर्वराजा शाहलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो। साथै, निजी सम्पत्तिमा क्षति पुगेको थियो भने नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको थियो।