टोकियो – चामलको मूल्य अत्यधिक बढिरहेका बेला जापान सरकारले आगामी जुलाईको अन्त्यसम्म प्रत्येक महिनामा सञ्चित चामल बजारमा ल्याउने भएको छ । बुधबार कृषिमन्त्री ताकु एटोले यो घोषणा गरेका हुन् ।
यो निर्णय पहिले नै दुई चरणमा २ लाख १२ हजार टन सञ्चित चामल बजारमा ल्याइसकेपछि पनि मूल्य वृद्धिमा रोक नलागेपछि आएको हो । तेस्रो चरणको वितरणका लागि सरकारले अप्रिलको अन्त्यमा १ लाख टन सञ्चित चामल लिलामीमार्फत बिक्री गर्ने तयारी गरेको छ । त्यसपछिका वितरणहरूको मात्रा बजारको अवस्था र अन्य कारकहरूमा आधारित हुने कृषिमन्त्री एटोले बताए । ‘उपभोक्तालाई स्थिर आपूर्ति सुनिश्चित गरेर मूल्यलाई नियन्त्रणमा राख्न सरकारले गर्मीयामसम्म प्रत्येक महिनामा सञ्चित चामल बिक्री गर्नेछ,’ एटोले भने ।
सरकारले गत फेब्रुअरीमा चामलको सहज वितरण सुनिश्चित गर्न सञ्चित चामल बजारमा ल्याउने निर्णय गरेको थियो । तीमध्ये केही चामल मार्चको अन्त्यदेखि सुपरमार्केटहरूमा उपलब्ध भइसकेका छन् । तर, कृषि, वन र मत्स्य मन्त्रालयका अनुसार मार्च २४ देखि ३० सम्मको अवधिमा ५ किलो चामलको औसत मूल्य लगातार १३औं हप्ता बढ्दै ४ हजार २०६ (लगभग $२९) पुगेको छ, जुन एक वर्ष अघिको मूल्यभन्दा दोब्बर बढी हो ।
मन्त्रालयकाअनुसार चामल अभाव हुन सक्ने चिन्ताका कारण घरपरिवार र व्यवसायहरूले अत्यधिक भण्डारण गरेकाले मूल्यमा तीव्र वृद्धि भएको हो ।