टोकियो – एकाबिहानै एकजना भाइले फोन गरेर मलाई सोधे – ‘खासमा शेष घले जापान किन आएका रहेछन् ? के भनेर गए ? उनले आफ्नो मनमा लागेको खसखस मसंग पोखे । मेरो प्रथम दृष्टिमा उनी एनआरएन अभियानका बारेमा भलिभाँती जानकार मान्छे त हैनन् तर चासो निकै राख्ने गर्छन् । हो उनीजस्तै एनआरएन अभियान बारे आधाउधी र सतही बुझाई राख्ने नेपालीहरुको संख्या अधिक छ । चासो निकै राख्ने तर गुदी कुरामा प्रवेश नै गर्न नचाहने अर्थात विषयवस्तुको गहिराई बुझेर भन्दा आँखा चिम्लेर अरुको पछाडि बुर्कुसी मार्ने हामी नेपालीको विशेषता जो छ ।
उनको सोधनीमा मेलै आफुले बुझेको बताएँ – ‘एनआरएनको केन्द्रमा अहिले विवाद छ । एनआरएनका शीर्षस्थ मानिएका ब्यक्तिहरु दुई ध्रुबमा विभाजित छन् । एउटा समूहको नेतृत्व डा. शेष घलेले गरिरहेका छन् । उनी सर्बोच्च अदालतको परमादेशद्वारा एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरिय समितिका संयोजक पनि हुन् । उनको समितिमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, कुमार पन्त, भवन भट्ट, रामप्रताप थापा, कुल आचार्य, रबिना थापा, बिनोद कुँवर लगायतका शीर्षस्थहरु छन् । तर उनीहरु घलेको समितिमा त्यति सक्रिय देखिदैनन् । कारण उनीहरु नै जानून् । त्यो तहका ब्यक्तिहरुमा देखिएको जुँगाको लडाई सतहमै नपोखिएको भए उनीहरुकै हाइट बढ्ने थियो ।
यसैगरी अर्को समुहको नेतृत्व डा. बद्रि केसीले गरिरहेका छन् । उनको कमिटीले शेष घलेको उच्चस्तरिय समितिलाई टेरपुच्छर लगाएको देखिदैंन । डा. केसीको समूहले आफुहरु नै आधिकारिक एनआरएनए भएको दाबी गर्दै आगामी अक्टोबरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने घले नेतृत्वको समितिले मे महिनामै एकताको महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरिसकेको छ ।
यसरी धुरीमा परेको चिराले गर्दा राष्ट्रिय कमिटीहरु पनि अन्यौलमा छन् । भोलि कुनचाँही समूहले आधिकारिकता पाउने हो भन्ने भयले अहिले पक्षधरता लिन नचाहेर तटस्थ बसिरहेका राष्ट्रिय कमिटी पनि निकै छन् भने कतिपयले खुलेरै पक्षधरता लिईरहेका छन् । जसअनुसार एनआरएन जापानले आफ्नो तटस्थता प्रकट गर्दै आए पनि दुबै समुहको कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ । त्यसको ताजा उदाहरण बद्रि टिमको कम्बोडिया क्षेत्रीय सम्मेलनमा सहभागिता र शेष घलेसंग हालैको अन्तरक्रिया कार्यक्रमको आयोजनालाई लिन सकिन्छ ।
यस्तो परिवेशमा मे महिनामा हुने भनिएको उच्चस्तरिय समितिद्वारा आह्वान गरिएको एकताको महावेशनको पक्षमा माहौल बनाउन मध्यपूर्व तथा युरोप हुँदै डा. घले जापान आएका हुन् । उनीसंगै एनआरएनए राष्ट्रिय कमिटीहरुको समन्वय गर्ने भूमिका पाएका एनआरएनएका अर्का पूर्व अध्यक्ष बिनोद कुँवर पनि घलेसंगै जापान आएका थिए । गत शनिबार साँझ टोकियो शिनओकुबोमा आयोजित अन्तरक्रिया कार्यक्रममा शेष घलेले मे महिनामा एकताको महाधिवेशन गराएरै छाड्ने बताए । उनले उक्त महाधिवेशनमा बद्रि केसीको टिम पनि सहभागी हुन अपिल गरे । आफुले पाएको जिम्मेवारी तोकिएकै समयमा पूरा गरेर देखाईदिने र त्यसका लागि एनआरएनएमा एकता चाहने र भलो चाहने सबैले सहयोग गर्न अपिल गरे । सर्बोच्चमा अनुरोध गरी समय बढाई मे महिनाभन्दा पछाडि सारेर अधिवेशन गरेमा बद्रि केसीको समुहलाई पनि ल्याउन सकिने संभावना रहने भन्ने धेरैको आशयको जबाफमा डा. घलेले सम्मानित सर्बोच्च अदालतले दिएको समयसीमाभित्र एकताको महाधिवेशन गराउनुपर्ने बाध्यता र सयौं नेपालीहरुले काठमाडौं जान हवाइटिकट लिईसकेको अवस्थामा अब निर्धारित तिथिमितिमा फेरबदल गर्न नसकिने बताए ।
अर्का अभियान्ता बिनोद कुँवरले पनि मे महिनामै अधिवेशन गराउनुपर्ने बाध्यता रहेकोले एनआरएनएको हितलाई केन्द्रमा राखेर आफुहरुले काम गरिरहेको बताए । आइसीसी पूर्व अध्यक्ष भवन भट्टले मिलेर जानुको विकल्प नरहेकोले दुबै पक्ष संयमित भएर सहमतिमा आउनुपर्ने बताए । आइसीसी उपाध्यक्ष रोबिन शेरचनले मे महिनामा अधिवेशन हुनेमा आशंका ब्यक्त गरे । यदि भईहाले पनि एनआरएनए दुर्घटनामा जाने खतरा रहेको बताए । पूर्व उपाध्यक्ष महेश श्रेष्ठले विद्यमान बाध्यतात्मक परिस्थितिका कारण मे महिनामा महाधिवेशन गर्नुपरेको र त्यसपछि पनि एकताका लागि पहल गर्न सकिने विकल्प रहेको औंल्याए ।
एकताको महाधिवेशन भन्दै गर्दा आधिकारिकताको लडाईका कारण अब करिव फुटको संघारमा पुगेको एनआरएनएलाई विभाजित हुनबाट जोगाउन संसारभरिका राष्ट्रिय कमिटीहरुको दबाबमुलक पहलकदमी हुनुपर्ने हो । तालुकदार मन्त्रालय परराष्ट्रले एउटा निकास निकाले हुने हो । भनिन्छ नि, जहाँ समस्या त्यहाँ समाधान पनि हुन्छ । संसारभरिका नेपालीहरु गोलबन्द हुन सकिने एनआरएनएलाई दुर्घटना हुनबाट बचाउन सम्बन्धित सबै पक्ष अधिकतम लचिलो भएर प्रस्तुत हुनु मै श्रेयस्कर छ । एकले अर्कोलाई दोषारोपण गरेर अर्को पक्षको अस्तित्व स्वीकार गर्नै नसक्ने हालतमा यो संस्थालाई पुराउनेहरुको पनि हिसाबकिताब गर्नुपर्ने देखिन्छ । विदेशमा आ-आफ्नो दुखजिलो गरेर बसेका भुँईमान्छेहरुको भावनामाथि खेलबाँड गर्दै मिलेर बसेको नेपाली समाजलाई खण्डिकृत गर्ने गतिविधि कुनै पनि मानेमा स्वीकार्य हुन सक्दैन । र, जाँदा जाँदै अर्को कुरा हामी नेपालीहरु पनि सहि र गलत छुट्याएर मात्रै आफ्नो धारणा बनाउन सक्ने हो भने पनि माथिका केही थान टाउकालाई थेग्नै नसक्ने गरी दबाब दिन पनि त सकिन्छ नि हैन र ? ****