टोकियो – जापानका केही बैंकहरूले बसोबास अवधि सकिएका विदेशी नागरिकहरूका बैंक खाताबाट रकम झिक्न रोक लगाउन थालेका छन् भनेको मङ्गलबार वित्तीय सेवा एजेन्सी (FSA) ले जानकारी दिएको छ । यस्तो कदम विशेष धोखाधडी (special fraud) मा ती खाताहरूको दुरुपयोग बढेसँगै चालिएको हो ।
नेशनल पुलिस एजेन्सीले गत डिसेम्बरमा सबै वित्तीय संस्थाहरूलाई यस्तो उपाय लागू गर्न आह्वान गरेको थियो । अनुसन्धानमा के पाइएको हो भने केही विदेशी बसोबासीहरूको बैंक खाता अवैध रूपमा बेचिएको र अपराधीहरूले आफन्त वा सरकारी अधिकारीको नक्कल गरेर पीडितहरूलाई ठग्न प्रयोग गरेका छन् ।
FSA ले कुन कुन बैंकहरूले यो उपाय कार्यान्वयन गरेका छन् भनेर खुलाएको छैन, तर Kyodo News ले पृथक रूपमा MUFG बैंक र मिजुहो बैंक (जापानका तीन ठूला बैंकमध्ये दुई) ले यो प्रक्रिया सुरु गरिसकेको पुष्टि गरेको छ । अरू बैंकहरूले पनि प्रणाली अपडेट गरेसँगै यो नियम लागू गर्ने अपेक्षा गरिएको छ ।
विदेशी नागरिकहरूलाई बसोबासको अवधि परिवर्तन वा नविकरण भएको जानकारी सम्बन्धित बैंकलाई दिनु पर्ने कानुनी प्रावधान भए पनि, यो कुरा विदेशी समुदायहरूमा व्यापक रूपमा थाहा नभएको पाइन्छ । त्यसैले बसोबास कानुनी रूपमा जारी भए तापनि जानकारी नदिने विदेशी नागरिकहरूले आफ्नो खाता प्रयोग गर्न नपाउने जोखिम सामना गर्न सक्नेछन् ।
FSA र आप्रवासन सेवा एजेन्सीसँगको छलफलपछि, जापानी प्रहरीले भनेको छ कि विदेशी नागरिकको बसोबास अवधि सकिएपछि खाता प्रयोग गर्नु, विशेष परिस्थिति बाहेक, पहिचानको नक्कल (impersonation) मानिने सम्भावना उच्च हुन्छ ।
सूचनामा थप भनिएको छ कि वैध बसोबास पुष्टि नभएसम्म खाता प्रयोग, रकम झिकाइ र स्थानान्तरणमा रोक लगाइनुपर्नेछ । यद्यपि, केही निकायहरू- जस्तै सार्वजनिक सेवा प्रदायक (जस्तो कि बिजुली र पानी)-का लागि हुने बैंक स्थानान्तरण भने यस नियन्त्रणको दायरामा पर्ने छैनन् ।