समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ। चीनको वाणिज्य मन्त्रालयले यसलाई “अर्को ठूलो गल्ती” भन्दै अमेरिकी नीतिको कडा शब्दहरूमा भर्त्सना गरेको हो।
चीनले “कुनै पनि धम्कीपूर्ण कार्य स्वीकार गर्दैन” र आवश्यक भएमा “अन्तिम सम्म सम्पूर्ण शक्ति प्रयोग गरी कर विरुद्ध लड्ने” वाणिज्य मन्त्रालयले स्पष्ट पारेको छ। यसैबीच, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो प्रभावशाली पत्रिका पिपल्स डेलीमा यस विषयमा एक विस्तृत लेख प्रकाशित गरेर अमेरिकी नीतिको कडा विरोध गरेको छ।
लेखमा चीनको प्रतिक्रियालाई “उचित, कानुनी, दृढ र संयमित” बताइएको छ भने अमेरिकाको यस्तो कार्यले “विश्वमा आफ्नो शक्ति प्रदर्शन गर्ने मनसाय” देखाउँदछ भन्ने आरोप लगाइएको छ। लेखको शीर्षक छ: ‘दबाब र धम्की मार्फत चीनलाई सम्हाल्नु सही तरिका होइन ।’ यसैगरी, ट्रम्प प्रशासनको आलोचना गर्दै य अमेरिकाले करलाई हतियारको रूपमा प्रयोग गरिरहेको र चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको समर्थक रहेको लेखिएको छ ।