काठमाडौं – तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको आगजनी तथा मृत्यु प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एनी कुवँरलाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीका अनुसार उनी चैत १५ गतेको प्रदर्शनमा प्रत्यक्ष सहभागी रहेको प्रमाण फेला परेको छ । उक्त दिन तीनकुनेस्थित एक घरमा आगजनी भएको थियो, जहाँ पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कुवँर सो घरमा देखिएको र घटनाका बेला भिडियो लाइभ गर्दै बोलेको समेत पुष्टि भएको प्रहरीले जनाएको छ । रजक आगलागी भएको कोठामा थिए भने कुवँर घटनास्थलमै उपस्थित थिइन् । यसै आधारमा थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।
उक्त प्रदर्शनकै क्रममा कीर्तिपुरका सविन महर्जनको पनि प्रहरीको गोली लागी ज्यान गएको थियो । प्रहरीले घटनासम्बन्धी अनुसन्धानलाई तीव्रता दिइरहेको जनाएको छ ।