रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकुम दिए– ‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूची तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीहरुको प्रश्नको अनपेक्षित उत्तर दिँदै जारले भने– ‘होइन । यी मध्ये तीन जनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने । जो कट्टर आलोचक छन, ती मेरा सही सल्लाहकार हुन् ।’
पत्रकारको प्रहारबाट पत्रकार बाँच्न मुस्किल हुन थालेको छ । कागको फुल चोरेर बनाएको अम्लेठ कागलाई नै बेच्नु पत्रकारिता हो भन्ने आम बुझाई खतराको घन्टी हो । सरकारले दिने हण्डी खान भएभरका सम्पूर्ण तेत्तिस कोटी देउदेउता भाक्ने, तामा तुलसो छुने र भएको इमान रित्याएपछि प्राप्त भेटीको बलमा लाहाको घर बनाउने दुर्योधनहरु पत्रकारितामा कलस बनेर उदाएका छन् । जिन्दगीभर त्याग, तपस्या र बलिदानबाट बनाएको व्यक्तित्व निमेषमा त्यही लाहाको घरभित्र खरानी भयो भने आश्चर्य नमाने हुन्छ । यसको क्षतिपूर्ति दिने निकाय भनेको समय मात्र हो । विधि, प्रक्रिया, कानूनले नभई सस्ता कलमहरुले स्थापित गरिदिने अतिरञ्जना संघीय लोकतन्त्रका गहना भएका छन् । मिलेर पनि नमिलेको एमाले, माओवादी र काँग्रेसका कमरेड, दाइहरु लडाउन, चर्काउन, भत्काउन भाइहरु चौबीसघण्टे ड्यूटीमा छन् । नेताहरुको अभिषेक, अर्चनाबाट उनीहरुको दिन आरम्भ र अन्त्य हुन्छ । तिर्खा लागेको माओवादी कार्यकर्ता बरु काँग्रेस कार्यालयमा पानी पिउन पस्ला, उसका लागि एमाले कार्यालय बिझाउँछ । एमालेका लागि माओवादी कार्यालय पुग्नु जारको छोराको विहेमा जन्त जानु जत्तिक्कै पीडादायी बन्ने गरेको छ । यो स्थिति ल्याउन कमरेड पत्रकारहरुको सक्रिय भूमिका छ । काँग्रेस शासनमा अक्षम भएपछि जनमत कम्युनिष्टलाई ओइरेको लाटालाई पनि थाहा छ । पाएको शक्ति र सामर्थ्य बोकाको मुखमा कुभिण्डो भएपछि विगतमा तेस्रो दलका मुखिया शेरबहादुर देउवालाई सरकारको लालपुर्जा सुम्पने कम्युनिष्टको खेलकुद कसैका आँखाबाट छिपेको छैन । पहिला पत्रकारको हातमा कलम हुन्थ्यो, अहिले लगानीकर्ता नै चिफ रिपोर्टर भएर मिडिया हाउस उदाउँछ ।
कुखुराको चल्ला चोरी, हाडनाता करणीको आरोपमा जेल परेकाहरुले जेल जीवनलाई चलाखीपूर्वक प्रजातान्त्रिक संघर्षको बलिदानमा अनुवाद गर्दा राजनीति मेनपावर व्यवसायभन्दा माथि उठ्न सकेन । राजनीति ती प्राणीका कारण बिटुलियो, जसले गाईको सिङले हानेको शरीरको खतलाई निरंकुश शासकले दिएको यातनासंग जोडेर आफूलाई हिरो प्रमाणित गर्ने दुस्साहस गरे । थुनिनु, कुटिनु, पिटिनु आधारभूत योग्यता बन्यो । राजनीतिक परिवर्तनलाई अनादर गरेको नठानियोस् तर राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्नेहरुको पृष्ठभूमि हेर्दा पनि थाहा हुन्छ – हाम्रो परिवर्तनको जमिन कति मजबुत छ ? राजनीतिको ‘र’ नबुझेका गोलीको शिकार बनेका छन् । तिनैको सपना साकार पार्न केन्द्रित राजनीतिका कारण त्यो सपना चिनियाँ लिपिजस्तै नबुझिने बन्यो । त्यसैले प्रत्येक जनक्रान्ति मानव भीडमा सीमित भयो । सहिदहरु प्रत्येक वर्ष पात्रोमा फेरिने तस्वीरका पाहुनाजस्ता भए ।
राजनीतिमा अनास्था पैदा गर्नमा सञ्चारमाध्यमले केही हदसम्म भूमिका निर्वाह गरेकै हुन् । पहिले नेता पुल्पुल्याउने पछि डस्ने रोगबाट सञ्चारजगत ग्रसित छ । नेताहरुलाई बस्त्रहीन बनाएर त्यसको मनोरञ्जन लुट्ने काइदामा लागेको नेपाली सञ्चार क्षेत्रको कठिन यात्रा शुरु भएको छ । जब देश विधिको बाटोमा अघि बढ्छ, त्यसपछि धमिलो पानीमा माछा मार्न खोज्नेहरु पाखा लाग्दै जान्छन् । मेनपावर र जग्गा दलालीबाट पैसाको उरुङ लगाउँदा पनि प्रतिष्ठा नबढेपछि जाँड लाग्दै गएपछि भट्टीमै पैसा उठाएर खोलिएका सञ्चार माध्यमको उपस्थिति बाक्लिँदा सञ्चारको प्रदूषण दिनप्रतिदिन बढ्न थाल्यो । उत्पादनको खर्च धान्न नसक्ने भएपछि न्यूज च्यानलको चोरी बाटोबाट जन्मिएका यस्ता टीभीहरुले प्रत्यक्ष प्रसारणका नाममा नेताहरुलाई अनावश्यक प्रस्तुत गर्दा तिनीहरुको अलोकप्रियता बढ्न मद्दत पुग्यो । समाधानभित्र समस्या निकाल्ने प्रवृत्ति बढोत्तरी हुन थाल्यो । बजारको आवश्यकताभन्दा लाज बचाउने धोतीमा उपयोग भएका यस्ता मिडियाले ‘ओठमा लाली, पेट खाली’ जनशक्ति उत्पादन गरे । पिपिली लाइभको व्यङ्ग्यले भारतीय सञ्चारक्षेत्रलाई झकझकायो तर नेपालमा फोटोकपी सँस्कृति हावी भयो । ६ महिनाको ज्याला साहुकोमा धरौटी राखेर ज्ञान, बुद्धि र विवेकको सिंगो महामानवमा आफूलाई प्रस्तुत गर्दा तिनीहरुको हैसियत टकिङ टमभन्दा माथि उठेन । बरु टीभीमा नदेखिँदा, पत्रिकामा बाइलाईन नलेख्दा र एफएममा नचिच्याउँदा सृष्टि टक्क रोकिन्छ भन्ने भ्रमले बास गर्यो । सरकारी हण्डी खाएर सरकारलाई दिनरात गाली गर्नुमा बहादुरी ठान्नेहरुको योग्यता अब विस्तारै पत्रुमा अनुवाद हुँदैछ ।
जसरी अन्य पेसामा लागेर कुस्त पैसा कमाएपछि केही व्यक्ति मान, प्रतिष्ठाका लागि सञ्चारमा लगानी गर्न ओइरिए, त्यसैगरी सञ्चारक्षेत्रमा अल्मलिएको नयाँ पुस्ताले सोच्नुपर्ने बेला आएको छ । प्रवेशमा सजिलो र इज्जत आर्जनको लोभमा यता लहसिएको त्यो पुस्ता सीपमूलक काम सिकेर त्यो सीप नेपालमै बेच्न सक्ने स्थितिमा रहन सक्छ । यदि कामलाई ठूलो सानोमा वर्गीकरण नगर्ने हो भने भूइँचालो जाँदा, नाकाबन्दी हुँदादेखि कोभिडको संक्रमणकालमा कपाल काटने नाईंहरु घर फर्कंदा काठमाडौंबासी कपाल काटन नपाएर जोगी हुनुपरेको यथार्थ धेरैका खोपडीमा ताजै छ । यो पनि प्राविधिक जनशक्तिको नेपालमा कति महत्व छ भन्ने उदाहरण हो । त्यसैले सम्भावना बोकेका सञ्चारकर्मीहरु आफुले आफैलाई पुनरावलोकन गरी पेसागत पुनर्निर्माणको कसीमा जोखिन जरुरी छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदूरी गर्छन् । खोइ, ओबामाको इज्जतमा धब्बा लागेको छैन । दलको साइनोसंग जोडेको कलमले एकदिन धोका दिन्छ । चोरेर जीविका चलाउनेले पनि चोरीलाई घृणा गर्छ । प्रकृतिको एउटा नियम के छ भने सम्भावनाको बाटो कहिल्यै समाप्त हुँदैन ।
अब सूचना कोच्याउने जमाना गए । मानिसको हातमा लाखौं रोजाई छन, जो संसारको जुनसुकै कुनाबाट छिनका छिन रोजी रोजी हेर्ने, सुन्ने क्षमता प्राप्त छ । सुनेको, जानेको, देखेको राम्रो लाग्ने जमानालाई नयाँ आएको आविष्कारले विरानो बनाउँदै लगेको छ ।
गल्ती भन्ने जान्दाजान्दै नेपाली मिडिया भारतीय सञ्चारको बाटोमा लाग्यो । विहान उठेदेखि बेलुका सुतेसम्म खुइल्याउने मात्र हैन, आँसुको विकल्पमा आँसु प्रस्तुत गरेर नथाक्नु अर्को चरित्र हो । युरोप अमेरिकामा पनि विपत्ति आउँछ । तर त्यहाँका मिडिया आँसु र धारेहातमा खेल्दैनन । यसको मतलव यो हैन कि त्यता मान्छेभित्र आँसु हुँदैन । बाँच्नेहरु मरेर बाँच्नु हुँदैन भन्ने सत्यबाट उनीहरु निर्देशित छन् । प्रकृतिले प्रत्येक मान्छेका लागि आफ्नै खालको प्रारब्ध तोकेको छ । यदि सतिलाई धार्मिक मान्यतासंग नजोडेर नघचेटिएको भए पतिसंगै आगोमा जल्नेहरुको संख्या शून्य हुने थियो । आवेग अन्तिम सत्य भइदिएको भए एउटाको अन्त्यसंगै जोडिएर आत्मदाह गर्नेहरुको भीडले मानव सभ्यता उहिल्यै नामेठ हुने थियो । अहिले भोगेको विपत्तिप्रति घोत्लिने हैन कि भावी पुस्तालाई यस्तो दुर्दिन देख्न नपर्ने अवस्थाको संकल्प अहिलेको आवश्यकता हो ।
२०१५ सालमा आफु प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने सर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए । त्यतिमात्र होइन, सहज ढंगले दर्ता नगरिने त्यस परिस्थितिमा पत्रिका दर्ताको सम्पूर्ण प्रक्रिया पनि आफुले मिलाइदिएका थिए । पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्– ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ ।’ अंकगणितमा १, १ जोड्दा २ हुन्छ । तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ । अघिल्लो पुस्ताका राजनीतिज्ञहरु यो सत्यसंग भलिभाँती जानकार थिए । शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन् । त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइँ झारेर गरे । पहाडेलाई तराई झर्नमा बन्देज लगाउनुपर्छ सम्मका आवाज उठिरहेको वर्तमान पृष्ठभूमिमा राजा महेन्द्रले त्यो सन्तुलित बसोबास प्रारम्भ नगरेको भए अहिले मुलुकले कस्तो अवस्था झेल्नुपर्थ्याे होला ? सहज अनुमान गर्न सकिन्छ । यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे । तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो । पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए । बदनामी राजाले खेप्नुपर्यो । राजा बीरेन्द्रले बाबुले कोरेकै बाटो त पछ्याए । अवधारणालाई नविकरण गर्न सकेनन् । अचाडूहरुले मधेश र पहाडको त्यो घाउ बल्झाइरहेका छन् । कामना गरौं यो घडीमा धमिलो पानीमा माछा मार्नेहरुले त्यही गर्तमा मुलुक नधकेलून ।
तपाईको प्रतिक्रिया