समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच गणतन्त्रबारे सहमति जुटेपछि मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्तिप्रक्रियामा मिसिएको दाबी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गणतन्त्रको आधार तय भएपछि मात्र माओवादीले युद्ध परित्याग गरी संसदीय प्रक्रियामा प्रवेश गरेको स्मरण गरे।
उनले २०६२/०६३ को जनआन्दोलनका क्रममा माओवादी भूमिगत रहेको तर वैशाख ८ गते ज्ञानेन्द्र शाहको घोषणालाई दलहरूले अस्वीकार गरेपछि आन्दोलन चर्किएको उल्लेख गरे। त्यसको तीन दिनपछि, वैशाख ११ गते, ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फिर्ता’ भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरेपछि मात्र माओवादी शान्तिपूर्ण ढंगले अगाडि आएको नेपालले बताए।
पूर्वराजाका पछिल्ला गतिविधिबारे टिप्पणी गर्दै उनले ज्ञानेन्द्र शाह सत्तामा फर्किन चाहँदैनन् भन्ने कुरा शाहका सचिवको भनाइबाट थाहा भएको बताए। उनले राजाको नाम प्रयोग गरी केही व्यक्तिहरूले स्वार्थपूर्ति गर्न खोजेको आरोप समेत लगाए। “राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन भनेपछि अलिकति मन शान्त भएको छ,” अध्यक्ष नेपालको भनाइ थियो।