समाचार सुन्नुहोस :
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पार्टी एकताको निर्णायक छलफलमा जुटेका छन्। बैठकमा दुबै नेताले आ-आफ्ना पार्टीका तर्फबाट औपचारिक प्रस्ताव प्रस्तुत गर्ने एकता कार्यदल संयोजक अब्दुल खानले बताएका छन् । आधारभूत सहमति भएपछि तीन–तीन जना प्रतिनिधि सम्मिलित कार्यदलले एकताको अन्तिम रूप दिनेछ।
एकता प्रक्रियामा पार्टीको नाम ‘जनमत पार्टी’ वा ‘नागरिक जनमत पार्टी’ राख्ने भन्नेबारे अझै छलफल जारी छ। चुनाव चिह्नको रूपमा भने नाउपाको चिह्न ‘ढकिया’लाई नै स्वीकार गरिने सहमति भइसकेको जनाइएको छ। संघीय संसद र प्रदेशमा प्रभावशाली उपस्थिति भएको जनमत पार्टीलाई एकीकृत पार्टीको नेतृत्व दिने सहमति बनिसकेको छ। डा. राउत अध्यक्ष रहनेछन् भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको भूमिकामा रहनेछिन्। एक अध्यक्षात्मक प्रणालीमा सहमति जुटेको र चौधरी संरक्षकको भूमिकामा रहने जनाइएको छ।
पार्टी एकतामा अन्य समान विचारधारा भएका दलहरूलाई पनि समावेश गर्ने प्रयास भइरहेको छ। हालै नाउपाको केन्द्रीय समितिको बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईको उपस्थिति र शुभकामना भनाइले एकता प्रयासलाई थप ऊर्जा दिएको छ। यद्यपि, नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। तर, चौधरी र भट्टराईबीच अनौपचारिक छलफल भएको जनाइएको छ।