काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ चितवनबाट सार्वजनिक गरेका छन् । शनिबार चितवनमा आयोजित रास्वपाको जनयात्रा शुभारम्भ कार्यक्रममा ढकालले लामिछानेमाथि राज्यले विगत पाँचदेखि सात वर्षसम्म लगातार अन्याय गर्दै आएको आरोप लगाए ।
ढकालले भावुक शैलीमा भने, ‘एक जना व्यक्तिलाई पटक-पटक लखेट्ने काम हुँदै आएको छ । टेलिभिजन प्रस्तोता हुँदा कोठाबाटै समातेर ल्याइयो, तर चितवनले विद्रोह गर्यो, आवाज उठायो, अनि न्याय दिलायो ।’
सरकारको रवैयाप्रति आक्रोश व्यक्त गर्दै उनले थपे, ‘अहिले पनि जसलाई लखेट्न नहुने हो, उही व्यक्तिलाई लखेटिँदै छ । नियम, कानुन, न्यायालयको आदेश सबैको बेवास्ता गर्दै, राति १० बजे घरभित्र पसेर पक्राउ गर्ने? त्यो पनि बेडरुमसम्म पुगेर दुर्व्यवहार ? यसरी व्यवहार हुन्छ नेता सँग ?’
ढकालले चितवनलाई स्मरण गराउँदै भने, ‘रवि लामिछानेलाई न्याय दिलाउने चितवनले अब उनको ‘अन्तिम इच्छा’ पनि सुन्न तयार हुनुपर्छ ।’ त्यसपछि उनले रविको ‘अन्तिम इच्छा’ भन्दै यस्ता भावना व्यक्त गरे :-
यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु छ ।
देशका युवाहरू विदेश पलायन नहोस्, यहीँ रोजगारी पाऊन्, त्यो सपना पुरा गर्नु छ ।
दलहरूको साँठगाँठ, भ्रष्टाचारको दलदल हटाएर विधिको शासन स्थापित गर्नु छ ।
र, ३५ वर्षदेखि देश लुट्नेहरूलाई कानुनी कारबाही गरेर जेलभित्र पु-याउनु छ-जहाँ उनीहरूले दशदान बैतर्नी पनि जेलमै गरुन् !’