काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू आजै प्रहरीसमक्ष आत्मसमर्पण गर्न लागेको बताएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि काठमाडौं प्रहरी परिसरको टोली उनको निवासमा पुगेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै लामिछानेले अदालतको आदेशप्रति सम्मान व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’
लामिछानेले आफूविरुद्ध ठूलो अन्याय भएको गुनासो गर्दै पार्टीको आगामी कार्यक्रम रोक्न नहुने आग्रह पनि गरेका छन् । रास्वपाले यही शनिबार चितवनमा कार्यक्रम आयोजना गर्न लागेको छ । उच्च अदालतको आदेशसँगै प्रहरीले उनलाई पक्राउ गरी रुपन्देही पठाउने तयारी गरिरहेको छ। अदालतको आदेश आएलगत्तै प्रहरीले शुक्रबार साँझ उनको घरमा पुगेर आवश्यक प्रक्रिया थालेको हो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले दिएका हुन् । यससँगै जिल्ला अदालत रुपन्देहीले उनलाई धरौटीमा छाड्ने आदेश बदर भएको छ । अदालतले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीविरुद्ध पनि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
उक्त आदेशबारे जानकारी दिँदै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले फैसला कार्यान्वयनमा जाने बताएका छन् ।