समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि दुई नेताबीच कुराकानी भएको हो।
बैठक अनौपचारिक रूपमा भए पनि प्रधानमन्त्री कार्यालयले दुई नेताबीच सौहार्दपूर्ण संवाद भएको जानकारी दिएको छ। उनीहरूबीच क्षेत्रीय सहकार्य, आपसी सम्बन्ध र समसामयिक विषयमा सामान्य चर्चा भएको स्रोतले बताएको छ। यसअघि बिहीबार साँझ थाइल्याण्ड सरकारले आयोजना गरेको बिम्स्टेक डिनर कार्यक्रममा पनि ओली र मोदी सँगै देखिएका थिए। स्रोतका अनुसार, सोही भेटले शुक्रबारको कुराकानीका लागि वातावरण तयार पारेको हो।
प्रधानमन्त्री ओली र मोदीबीच अघिल्लोपटक न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभाको साइडलाइनमा छोटो भेटवार्ता भएको थियो। यद्यपि, दुबै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी योजनाबद्ध द्विपक्षीय वार्ता भने हालसम्म हुन सकेको छैन। बैङ्ककमा भएको पछिल्लो संवादले दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धमा पुनः चासो देखिएको विश्लेषकहरूले बताएका छन्।