समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले कडा प्रश्न उठाएका छन्। नेकपा (एमाले)का सांसद रघुजी पन्तले उक्त घटनामा न्यायिक छानबिन आयोग गठन आवश्यक नरहेको बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत बयान लिनुपर्ने माग गरे।
पन्तले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै, “श्री ५ भनेर सूचना जारी गर्नेलाई कारबाही किन भएन?” भन्दै पूर्वराजा र दुर्गा प्रसाईंको भूमिकामाथि प्रश्न उठाए। उनले आपराधिक प्रकृतिका घटनामा न्यायिक आयोग गठन गर्ने परम्परा उचित नभएको तर्क गरे।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रदर्शनको मूल योजनाकार को हो भन्ने प्रश्न उठाउँदै सुरक्षाकर्मी समयमै नपुगेको विषयमा गृहमन्त्रीलाई जवाफ मागे। पाण्डेले समाजवादी मोर्चाको घटक दलको कार्यालयमा आगलागी हुनु सुरक्षाको कमजोरी भएको आरोप लगाए।
उनले दुर्गा प्रसाईं आफ्नै अगाडि हुँदा पनि नपक्रिएकोप्रति शंका व्यक्त गर्दै, “पक्राउ गर्ने योजना थियो कि थिएन?” भनी प्रश्न गरे। साथै, छानबिन आयोग गठन हुने या नहुने विषयमा समेत स्पष्टता खोजे।