समाचार सुन्नुहोस :
काठमाडौँ – तराई तथा मधेशका जिल्लाहरूमा आज होलीको पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली र पहाडी जिल्लाहरूमा भने यो पर्व (फागुपूर्णिमा) हिजो मनाइसकेको छ। तराई क्षेत्रमा होली मनाउने परम्परा अनुसार आज यो उत्सव मनाउन लागिएको हो।नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा होलीको धुमधाम मनाइँदै छ।
होली पर्वलाई सामाजिक एकता, सद्भाव र समानताको प्रतीक मानिन्छ। यस पर्वमा विभिन्न रङहरूको प्रयोग गरी परस्परमा रङ हाल्दै सबैलाई एउटै रङमा रंगाउने चलन छ। यसले समाजमा भेदभाव मेटाउन र सबैलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्छ। पण्डित बुद्धिसागर भण्डारीका अनुसार, होली पर्वले असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक हो। उनले यस पर्वले अनेकतामा एकता कायम गर्ने भूमिका खेलेको बताए। धार्मिक महत्वका साथै यसले सामाजिक सद्भाव र उत्साह पनि प्रदान गर्छ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा सुरु भएको यो पर्वले समयको साथै प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा जस्ता पौराणिक पात्रहरूसँग जोडिएर फागु, फगुवा, होली, होरी आदि नामले चिनिँदै आएको छ। यस पर्वमा रसरङ्ग, नाचगान, खानपिन र मनोरञ्जनका साथै ढोल, डम्फु, मृदङ्ग जस्ता बाजाहरू बजाउँदै भेदभाव र मनोमालिन्य त्यागी भ्रातृत्व भावना बढाउने गरिन्छ। होलीको यो पर्वले समाजमा प्रेम, एकता र सद्भाव फैलाउन महत्वपूर्ण भूमिका खेल्दछ।