टोकियो – जापानको राजधानी टोकियोमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुल, जापानले आफ्नो नयाँ शाखा ‘एभरेष्ट इन्टरनेशनल स्कुल, आराकावा क्याम्पस’ सञ्चालनमा ल्याएको छ । सन् २०१३ मा स्थापना भएको विद्यालय नेपाल सरकारबाट मान्यता प्राप्त नेपालबाहिरको एक मात्र विद्यालय हो, जहाँ कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराइन्छ ।
नयाँ आराकावा क्याम्पस अप्रिल २०२५ देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । विशेष गरी उएनो, निप्पोरी, ओकुबो, माचिया तथा साइतामा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरी विद्यालयले नयाँ क्याम्पस सञ्चालनमा ल्याएको हो ।
शैक्षिक सत्र २०२५/२६ मा नर्सरीदेखि कक्षा ५ सम्मको अध्ययन व्यवस्था मिलाइएको छ । आगामी वर्षहरूमा क्रमशः उच्च कक्षाहरू थप्ने योजना बनाइएको छ, जसले गर्दा विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन सहज हुनेछ । एभरेष्ट इन्टरनेशनल स्कुलका चारवटै क्याम्पसमा विद्यार्थीहरूको स्थानान्तरणको सुविधा समेत उपलब्ध रहने छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त विद्यालय हो ।
विद्यालयले क्याम्ब्रिज विश्वविद्यालयको माध्यमिक तहसम्मको मान्यता प्राप्त गरिसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । नयाँ क्याम्पसको औपचारिक उद्घाटनको अवसरमा गत ९ तारिख आइतवार विशेष पूजा आराधना सम्पन्न गरिएको थियो । नेपाल र भारतका सुप्रसिद्ध बाबा श्री १००८ कालिदास बाबाको प्रमुख पूजारीत्वमा सम्पन्न पूजापाठ कार्यक्रम आराकावा क्याम्पसको गृह प्रवेश समारोहका रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, भारतीय राजदूतावासका उपनियोग प्रमुख आर. मधुसुदन, जापान तथा कोरियाबाट आमन्त्रित विशिष्ट अतिथिहरू तथा विभिन्न क्षेत्रका समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
विद्यालयमा हाल विभिन्न देशका विद्यार्थीहरू अध्ययनरत छन्, साथै विभिन्न राष्ट्रियता भएका शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । विद्यालयले नेपाली समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली अपनाएर उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा तयार पार्ने लक्ष्य राखेको छ ।
थप जानकारीका लागि इच्छुक व्यक्तिहरू विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गर्न सक्छन् । विद्यालयको आधिकारिक फोन नम्बरहरू 03-5335-7379 वा 080-7642-2552 मा सम्पर्क गरी आवश्यक जानकारी लिन सकिन्छ ।