समाचार सुन्नुहोस :
काठमाडौँ – सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहसँग सम्बन्धित पाँच जनालाई पक्राउ गरेको छ। यी व्यक्तिहरू मलङ्गवा नगरपालिका–८ स्थित गोरखकाली नाकाबाट नक्कली नोटसहित पक्राउ परेका हुन्।
पक्राउ परेकामा महोत्तरीको सोनमा गाउँपालिका–७ का ४२ वर्षीय सुल्तान मंसुर खुर्सैद, रौतहटको गढीमाई नगरपालिका–९ का ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ का ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ की ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।
प्रहरीले भारततर्फबाट आएको बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरको मोटरसाइकलमा सवार यी व्यक्तिहरूलाई विशेष सूराकीको आधारमा खानतलासी लिँदा नक्कली नोट बरामद गरेको थियो। सर्लाही प्रहरीका प्रवक्ता तथा नायब उपरीक्षक सरोज राईले बताए अनुसार, प्रहरीले यस गिरोहसँग नक्कली नेपाली एक हजार रुपियाँका दरको १७६ थान नोट (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ। यी नोटहरू एक-एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बन्डलमा रहेका थिए।