समाचार सुन्नुहोस :
काठमाडौँ – साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। यस वार्तामा युक्रेनले अमेरिकाको ३० दिने युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ। वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने र खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया दिँदै युक्रेनले यसमा सहमति जनाएको र रुसले पनि यसलाई समर्थन गर्ने आशा गरेको बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने बताए।
अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै रुसले युद्धविराम शर्त स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए। उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।
यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एण्ड्री येर्माक, विदेशमन्त्री एण्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए।