काठमाडौं – अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गर्दै पक्राउ गरिएको छ । स्थानीय समयअनुसार गत साता मंगलबार राति, क्यालिफोर्नियाको सान डिएगो क्षेत्रबाट डुंगाको माध्यमबाट अमेरिका प्रवेश गर्न खोज्ने क्रममा अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अन्तर्गतको एयर एण्ड मरीन अपरेसन्स (एएमओ) ले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सीबीपीका अनुसार, क्यालिफोर्नियाको समुद्री तट हुँदै अमेरिका प्रवेश गर्न खोज्ने नौ आप्रवासीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरूमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन, र एक चिनियाँ नागरिक रहेका छन् । हालसम्म पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
सीबीपीले दिएको जानकारीअनुसार, मंगलबार राति करिब साढे ९ बजे एएमओको विमानले समुद्रमा अमेरिकातर्फ डुंगा ल्याइरहेको समूहलाई पहिचान गरेको थियो । तटीय सुरक्षाका लागि खटिएको कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो । रातिको समयका कारण नियन्त्रणमा लिन कठिनाइ भएपछि बुधबार बिहान गोली प्रहार गरी उनीहरूलाई पक्राउ गरिएको सीबीपीले जनाएको छ ।
सीबीपीले उनीहरूलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको अभियोगमा कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ । सो कानुन अनुसार, सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ भने आर्थिक लाभका लागि अवैध आप्रवासनमा संलग्न भएमा न्यूनतम तीन वर्षदेखि अधिकतम १० वर्षसम्मको जेल सजाय हुनसक्ने प्रावधान छ ।
ट्रम्प प्रशासनले सीमा सुरक्षा कडा बनाएपछि अमेरिका अवैध रूपमा प्रवेश गर्ने आप्रवासीको संख्या ९७ प्रतिशतले घटेको छ ।