समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाल प्रदर्शनमा रहेको चलचित्र ‘लाज शरणम्’ हेरेपछि अभिनेता सिताराम कट्टेल (धुर्मुश) लाई खुलेर प्रशंसा गरेका छन्। सोमवार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा चलचित्र हेरेका बालेनले धुर्मुशको अभिनयलाई सराहना गर्दै भने, “यस्तो डिटेल दिनुभा’छ नि! कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो।”
चलचित्र हेरेपछि बालेनले धुर्मुशलाई अँगाल्दै उनको कामकलापलाई प्रशंसा गरे। उनले भने, “एकदमै राम्रो काम गर्नु भएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।” बालेनले मिडियालाई खबर नदिई चलचित्र हेर्न पुगेका थिए।
‘लाज शरणम्’ चलचित्रमा ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको स्वर समावेश छ। जुन दर्शकमाझ निकै चर्चित भएको थियो। तर चलचित्रमा यो गीत समावेश छैन। क्रेडिट स्क्रोल हुन थालेपछि मात्र यो गीत बज्छ। चलचित्रले हालसम्म कति कलेक्सन गरेको छ भन्ने बारे निर्माण पक्षले अझ सार्वजनिक गरेको छैन।
कुमार कट्टेलको निर्देशनमा निर्माण भएको ‘लाज शरणम्’ मा धुर्मुश मुख्य भूमिकामा छन्। यस चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायत कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन्। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता नविन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता हुन्।