काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरेर अनावश्यक विवाद सिर्जना गरेको बताएका छन् ।
शनिबार सिन्धुली-१ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले घिसिङ अवकाशको संघारमा रहेका बेला सरकारले उनलाई हटाउने प्रयत्न गर्नु बुद्धिमानी नभएको बताए । थापाले भने, ‘तीन-चार महिनामा सेवा निवृत्त हुने व्यक्तिलाई अहिले हटाउन खोज्नु अनावश्यक हो । सरकारले त्यसपछि योग्य व्यक्ति ल्याएर संस्थाको नेतृत्व दिनुपर्छ ।’
उनले सरकारलाई यस्ता सानातिना विषयमा अल्झिनुको सट्टा राष्ट्रिय हितका महत्वपूर्ण मुद्दामा ध्यान दिन आग्रह गरे । ‘सरकार नै एउटा व्यक्तिको पछि लागेर विवाद सिर्जना गरिरहेको देखिन्छ। यो गलत प्रवृत्ति हो। प्रधानमन्त्रीले यस्ता अनावश्यक गतिविधि रोक्नुपर्छ,’ उनले भने ।
थापाले मन्त्रीहरूलाई गम्भीर विषयमा केन्द्रित हुन आग्रह गर्दै सरकारको निर्णय प्रक्रियामा परिपक्वता आवश्यक रहेको उल्लेख गरे ।