काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था कुनै दलविशेषको राजनीतिभन्दा पृथक र माथिल्लो तहको संस्था भएको बताएका छन् । शनिबार वीरगन्जको लालबगलामा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सन्देश र त्यसपछि देखिएको राजनीतिक प्रतिक्रिया विषयमा आफ्नो धारणा राखे ।
लिङदेनका अनुसार, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशले मुलुकको वर्तमान अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो । सो सन्देशमा शाहले राजनीतिक दलहरूले देशलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाउँदै राजसंस्थाको आवश्यकता औंल्याएका थिए ।
यसै सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले शाहलाई खुला रुपमा राजनीतिक पार्टी खोलेर निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न चुनौती दिएका थिए । सोही प्रतिक्रियालाई लक्षित गर्दै अध्यक्ष लिङदेनले राजसंस्थालाई कुनै पार्टीको चुनावी प्रतिस्पर्धासँग तुलना गर्न नमिल्ने बताए ।
उनले वर्तमान नेताहरूलाई चुनौती दिँदै राप्रपाका नेताहरू नै राजनीतिक प्रतिस्पर्धाका लागि सक्षम रहेको जिकिर गरे। साथै, आफ्नो पार्टीको उद्देश्य कुनै राजनीतिक दल विशेषको फाइदाका लागि नभई देशको हितमा राजसंस्थालाई पुनःस्थापित गर्नु रहेको उनले स्पष्ट पारे ।