काठमाडौं – अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ गइरहेको साउथवेस्ट एयरलाइन्सको एउटा उडानमा यात्रुहरूले अनपेक्षित घटनाको सामना गर्नुपर्यो । उडानको क्रममा एक महिलाले अचानक आफ्ना लुगा फुकालेर विमानभित्र हंगामा मच्चाएकी छिन् । करिब २५ मिनेटसम्म उनले नग्न अवस्थामै होहल्ला गरिरहेकी थिइन्, जसका कारण अन्य यात्रुहरू अचम्मित भए ।
सोमबार विलियम पी हबी विमानस्थलबाट उडेको केही समयमै यो घटना भएको थियो । उक्त महिलाको अस्वाभाविक गतिविधि देखेपछि विमानलाई तत्काल ह्युस्टन फर्काइयो । घटनापछि विमानस्थलमा अवतरण गराइएपछि उनलाई स्थानीय प्रहरीको नियन्त्रणमा दिइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई मेडिकल जाँचका लागि लगिएको छ । साउथवेस्ट एयरलाइन्सले घटनाप्रति खेद व्यक्त गर्दै यात्रुहरूलाई परेको असुविधाको लागि क्षमायाचनासहित ५० डलर क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
समाचार एजेन्सीहरूका अनुसार ती महिलाले विमानभित्र नग्न हुँदै बारम्बार बाहिर निस्कन अनुरोध गरिरहेकी थिइन् । उनले आफू ‘बाइपोलर डिसअर्डर’बाट पीडित भएको खुलासा गरेकी छन् । साथै, उनले विमानको ककपिटमा जबरजस्ती प्रवेश गर्ने प्रयास समेत गरेको बताइएको छ। घटनाको भिडियो सार्वजनिक भएसँगै यो विषय व्यापक चासोको विषय बनेको छ ।