टोकियो – नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामूहिक बेल विवाह (ईही), ब्रतबन्ध (केयता पूजा) सम्पन्न भएको छ । मार्च १ तारिख, शनिबारको दिन टोकियो कोतोकु कितासुनास्थित दान्ची हलमा आयोजित कार्यक्रममा १८ जना बालिकाहरूको बेल विवाह (ईही) र दुई जना बालकहरूको ब्रतबन्ध सम्पन्न गरिएको हो ।
जापानलाई आफ्नो कर्मस्थल बनाउँदै आएको नेवाः समुदायले आफ्ना रीतिरिवाज र परम्परालाई विदेशी भूमिमा पनि अपनाउँदै आएको छ । संस्थाका महासचिव शिव तण्डुकारका अनुसार, बेल विवाह (ईही) चौथो पटक र ब्रतबन्ध दोस्रो पटक आयोजना गरिएको हो । टोकियोका साथै चिवा, साइतामा, योकोहामा, गुन्मा, इबाराकी, र तोचिगीबाट पनि सहभागिता जनाइएको थियो ।पूजामा अहिलेसम्मकै धेरै सहभागीता रहेको संस्थाका उपाध्यक्ष रवि श्रेष्ठले बताए । ‘टोकियो बाहेक अन्य शहरबाट पनि यति धेरै संख्यामा सहभागिता जनाइएको यो पहिलो पटक हो । यसले गर्दा हामीलाई आउँदा वर्षहरूमा पनि यस्ता परम्परागत कार्यक्रमहरू आयोजना गर्न अझ ठूलो हौसला र उत्साह मिलेको छ,’ उनले भने ।
नेपालबाट गुरु बिरन बज्र बज्राचार्यलाई जापानसम्म आमन्त्रित गरी यो शुभ कार्य सम्पन्न गरिएको थियो । गुरुको आमन्त्रणको लागि सम्पूर्ण व्यवस्थाको जिम्मा लिएका पूर्व अध्यक्ष बालकृष्ण डंगोल अनुसार नेपाल बाट गुरू बोलाई नेवारी परम्परा अनुसार बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) गर्न पाउँदा साच्चिनै पुण्यको काम गरेको अनुभव भएको बताए ।
‘जापानको कार्यव्यस्तता र बिदा नमिल्ने समस्याका कारण नेपाल गएर बेल विवाह (ईही) र ब्रतबन्ध गर्न नसकेका धेरै अभिभावकहरूका लागि यो कार्यक्रम विशेष महत्त्वपूर्ण रह्यो,’ सहभागी अभिभावकहरूले बताएका थिए ।
कार्यक्रममा नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको पनि उपस्थिति थियो । उनले बेल विवाह (ईही) र ब्रतबन्ध गरेका सम्पूर्ण बालबालिकालाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए । ‘नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो । यस फूलबारीमा नेवाः समुदाय एउटा सुन्दर फूल हो,’ उनले भने, ‘कला, संस्कृति, रीतिरिवाज, र परम्परामा धनी नेवाः समुदायले विदेशी भूमिमा पनि आफ्नो संस्कृति जोगाउँदै यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय कार्य हो ।’
संस्थाका संस्थापक अध्यक्ष माधव मानन्धरका अनुसार, जापानमा नेवाः समुदायको बसोबास बढ्दै गएकाले नेवाः कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो ।
‘हाम्रो कार्यक्रमहरूमा गैरनेवाः तथा जापानी समुदायको पनि उल्लेखनीय सहभागिता रहने गरेको छ । हामीले वार्षिक रूपमा म्हः पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएका छौं,’ संस्थापक अध्यक्ष मानन्धरले भने, ‘टोकियोमा आयोजना हुने नेपाल फेस्टिवलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएका छौं ।’
संस्थाको अध्यक्ष रूपेश डंगोलको अध्यक्षतामा आयोजित शुभ कार्यक्रमलाई समापन गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भने, ‘बेल विवाह (ईही) र ब्रतबन्धलाई भव्य रूपमा सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हाम्रो कृतज्ञता छ । संस्थाले भविष्यमा आयोजना गर्ने अन्य कार्यक्रमहरूमा पनि सहभागिता जनाइदिनुहुन समेत अनुरोध छ ।’
कार्यक्रमको रात्री भोजमा ‘झों भ्वएँ’ (नेवारी भोज) समेत व्यवस्था गरिएको थियो । नेपालमा समेत कम हुँदै गएको ‘झों भ्वएँ’ जापानमा खान पाउँदा सहभागीहरू अचम्मित हुँदै खुशी भएका थिए । ‘वर्षौंपछि झों भ्वएँ खाँदैछु, त्यो पनि जापानमा’ सहभागीमध्येका दिलीप कुमार श्रेष्ठले उत्साहित हुँदै भने ।
‘बेल विवाह (ईही) र ब्रतबन्ध मात्र होइन, नेवाः परम्परा अनुसारको झों भ्वएँ पनि आयोजनामा समावेश गरिदिएकोमा आयोजक संस्थालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु’ अर्को सहभागी जानु श्रेष्ठले भनिन् ।