टोकियो – वसन्त ऋतु नयाँ सुरुवातको संकेत दिन्छ, तर यो वर्ष टोकियोका बासिन्दाहरूले एउटा युगको अन्त्य पनि हेर्नुपर्यो । ‘४५ वर्षसम्म शिन्जुकुको प्रतीक रहन सफल ‘शिन्जुकु आल्टा’ फेब्रुअरी २८ मा स्थायी रूपमा बन्द भएको छ ।
शिन्जुकु स्टेशनको ठिक सामुन्ने सन् १९७९ मा खुलेको यो भवन सुरुका दिनदेखि नै युवा पुस्ताको फेसन र मनोरञ्जनको केन्द्र रह्यो । विशेष गरी, यहाँका फेसन स्टोरहरूले आधुनिक शैली खोज्ने युवतीहरूको आकर्षणको केन्द्र बनायो ।
सन् १९८२ मा आल्टाको सातौं तलामा टेलिभिजन स्टुडियो स्थापना भएपछि यसको लोकप्रियता झनै बढ्यो । यहीँबाट ‘वाराते इइटोमो’ जस्तो ऐतिहासिक हास्य टेलिभिजन कार्यक्रम प्रसारण हुन्थ्यो, जुन ३२ वर्षसम्म निरन्तर प्रसारित भयो । तर, आल्टाको सबैभन्दा ठूलो विशेषता भने यसको भवन बाहिरको भेटघाट स्थल थियो । ‘आल्टा माए’ (आल्टाको अगाडि) भन्नासाथ शिन्जुकुमा साथीहरू वा जोडीहरू भेट्ने स्थानको रूपमा चिनिन्थ्यो । यो स्थान शिबुयाको प्रसिद्ध हाचिको सालिक अगाडि भेटघाट गर्ने परम्परासरह महत्त्वपूर्ण मानिन्थ्यो ।
बन्द गर्ने आधिकारिक कारण खुलासा नगरिए पनि, धेरैलाई थाहा छ कि ‘पुरानो संरचना र सानो स्थानका कारण आल्टा प्रतिस्पर्धी रहन सकेन ।’ आधुनिक सपिङ्ग सेन्टरहरूको तुलनामा यसको भवन साँघुरो र पुरानो देखिन थालेको थियो । साथै, शिन्जुकु जस्तो महँगो क्षेत्रको बीचमा अवस्थित यो भूभाग अझ लाभदायक रूपमा उपयोग गर्न सकिने भएकाले नयाँ संरचना निर्माणको सम्भावना बढेको छ ।
अब यो स्थानमा के बन्नेछ भन्ने औपचारिक जानकारी छैन, तर यो भू-भाग टोकियोको अति महत्वपूर्ण स्थानमध्ये एक भएकाले ‘एउटा ठूलो, आधुनिक भवन बन्ने सम्भावना उच्च छ ।’ शिन्जुकु आल्टा अब भौतिक रूपमा नरहे पनि, यसले जापानी फेसन, मनोरञ्जन र भेटघाट संस्कृतिमा पारेको प्रभाव भने लामो समयसम्म जीवित रहनेछ ।