समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सुसज्जित तीनतले चीर ठड्याएसँगै होली पर्वको सुरुवात भएको छ। फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि नेपालभर फागु अर्थात् होली पर्व मनाउन थालिन्छ। यही परम्परा अनुसार, शुक्रबार बिहान मानन्धर समुदायले विशेष रूपमा चीर ठड्याउने कार्य सम्पन्न गरेका छन्। उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्वको शुभारम्भ गरेका छन्।
यस्तै, पशुपति क्षेत्र, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रमा समेत रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको संकेत दिइएको छ।
यस वर्ष होलीको मुख्य उत्सव फागुन २९ गते र चैत १ गते पर्नेछ। फागुन २९ गते हिमाली तथा पहाडी जिल्लाहरूमा होली मनाइनेछ भने चैत १ गते तराई/मधेशका जिल्लाहरूमा धुमधामका साथ यो पर्व मनाइनेछ। सरकारद्वारा सम्बन्धित क्षेत्रहरूमा सार्वजनिक बिदा पनि प्रदान गरिएको छ।