समाचार सुन्नुहोस :
काठमाडौँ – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित तीन जना व्यक्ति र तीन विदेशी कम्पनीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले बिहीबार सुनाएको फैसलाअनुसार, झासँगै पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र विदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खानलाई एक–एक वर्ष कैद सजाय सुनाइएको छ।
अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले न्यूमेरा (एम) एसडीएनबीएचडी मलेसिया, नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड सिंगापुर र ओएसआई डिजिटल प्राली इण्डिया जेभीलाई समेत दोषी ठहर गर्दै २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो तथा सोही रकम बराबर जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ।
यस फैसलाअनुसार दोषी ठहर भएका तीनै जना र तीन विदेशी कम्पनीले संयुक्त रूपमा ४६ करोड ४१ लाख १८ हजार ६२८ रुपैयाँ बुझाउनुपर्नेछ। साथै, झा र खनाल प्राधिकरणका अध्यक्ष भइसकेकाले उनीहरूलाई थप एक महिना कैद सजाय तोकिएको छ।