समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारमा टिपर घर भित्रै पसेर ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ। प्रहरी प्रभाग साँखुका अनुसार, दुर्घटना भएको बेला पीडितहरू निद्रामा थिए। शुक्रबार बिहान साढे ३ बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर साँखु ब्रह्मखेल सडक खण्डबाट सडक छेउमा रहेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले निर्माण गरेको जस्ताको टहराभित्र छिरेको थियो।
आश्रयस्थलका फाउण्डर अध्यक्ष युवराज थापाका अनुसार, दुर्घटनामा दुई जना बालबालिका र एक वृद्धको मृत्यु भएको छ। दुर्घटनापछि प्रहरीले २५ वर्षीय चालक सागर माझीलाई नियन्त्रणमा लिएको छ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले २०६२ सालदेखि सलम्बुटारमा आश्रयस्थल सञ्चालन गर्दै आएको छ। त्यहाँ ६१ जना बस्दै आएका थिए। तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।