काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए । महानगर प्रमुख शाहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूटा लाञ्छनासमेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौं महानगरपालिका पठाएको थियो ।
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि आधिकारिक प्रकिया पूरा नगरी काठमा नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने भएको हो ।