समाचार सुन्नुहोस :
काठमाडौँ – सिरहा जिल्लाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार रहेको प्रमुख आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार उजुरीपछि फरार रहेका मण्डललाई गए राति नियन्त्रणमा लिइएको हो।
माघ २७ गते राति शौच गर्न घरबाहिर गएकी नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारीलाई सामूहिक बलात्कार गरिएको थियो। पीडित परिवारले प्रहरीमा उजुरी दिने साटो, माघ २९ र ३० गते गाउँस्तरमै पञ्चायत बसाएर लेनदेनमार्फत घटनालाई मिलाउने प्रयास गरिएको थियो। तर, माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि घटना बाहिर आएको थियो। घटनापछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
पीडित परिवारले रूपेश मण्डलसहित आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरेका थिए। कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक तथा लेनदेन मिलापत्रजस्ता चार मुख्य अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।