काठमाडौं – ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता-२०८१’ को उपाधि बागलुङ टिमले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा ४२ लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङले उपाधि जितेको हो ।
फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित प्रतियोगिताको फाइनलमा बागलुङ र म्याग्दी टोलीबीच प्रतिस्पर्धात्मक दोहोरी भिडन्त देखिएको थियो । उत्कृष्ट गायन, शैली र प्रस्तुतीकरणका आधारमा बागलुङ टोलीका सुमन खड्का र तारा थापा च्याम्पियन बने । उनीहरूले तीन लाख रुपैयाँ नगद, राष्ट्रिय रनिङ शिल्ड, पदक, र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
म्याग्दी टोलीका निशान्त बिक र सपना रोकाले प्रभावशाली प्रस्तुति दिँदै दोस्रो स्थान हासिल गरे । उनीहरूले नगद दुई लाख रुपैयाँ, ट्रफी, र पदक प्राप्त गरे । यस्तै, तृतीय स्थान हासिल गर्ने चितवन टोलीले एक लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप नवलपुर टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा विशेष प्रतिभा देखाएका कलाकारहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । उत्कृष्ट गायकको उपाधि राजु लामिछानेले प्राप्त गरे भने उत्कृष्ट गायिकाको सम्मान शर्मिला गुरुङलाई प्रदान गरियो । नव प्रतिभाको रूपमा तेह्रथुमका पुरुष कलाकार तथा भावना अर्याल नव गायिका घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
अनुशासित कलाकारका रूपमा दिलीप थापा मगर र सुष्मा ठकुरी सम्मानित भए । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल तथा कालिकोटकी महिला कलाकारलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विजयी तथा उत्कृष्ट प्रतिभाहरूलाई सम्मानपूर्वक पुरस्कार प्रदान गरिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित प्रतियोगिताले लोक तथा दोहोरी गीत संगीतलाई प्रवर्द्धन गर्नुका साथै नव प्रतिभाहरूको पहिचान गर्दै आएको छ ।