काठमाडौँ – दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा रिलिज गरिएको ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि मधेसमा चर्किएको आन्दोलनलाई कथाको केन्द्र बनाएको छ। ट्रेलरमा आन्दोलनको समयमा अपहरणमा परेका एक सांसद र विद्यालय प्रधानाध्यापकका छोराको खोजीमा प्रहरीद्वारा सञ्चालन गरिएको अप्रेसनलाई देखाइएको छ। यस क्रममा प्रहरीले अपनाएका रणनीति, उनीहरूका चुनौती र मधेस आन्दोलनको तनावपूर्ण वातावरणलाई ट्रेलरले उजागर गरेको छ। साथै, अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसल पनि ट्रेलरको आकर्षण बनेको छ।
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै सबैभन्दा ठूलो फिल्म भएको बताए। उनले फिल्म निर्माणमा एक हजारभन्दा बढी मानिस संलग्न रहेको उल्लेख गर्दै, फिल्मको कथा २०१५ को परिवेशमा आधारित रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यस सिनेमाले नेपाली दर्शकको मन जित्ने विश्वास निर्देशकको छ। चैत १ गते प्रदर्शनमा आउने फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
यस फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता प्रतिष्ठित फिल्म महोत्सवहरूमा सहभागिता जनाएको छ। भेनिस फिल्म फेस्टिभलमा १० मिनेटसम्म स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको यस फिल्मका निर्देशक रौनियारलाई ‘द न्युयोर्क टाइम्स’ ले विश्वका नौ उदीयमान निर्देशकको सूचीमा राखेको थियो। साथै, ब्राजिलियन लेखक पाओलो कोहेलोले पनि रौनियारको खुलेर प्रशंसा गरेका थिए। फिल्म निर्माणमा आदि फिल्मस्को तर्फबाट निर्देशक रौनियार, अभिनेत्री मगराती, बासुरी फिल्मस्को तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका एलन आर मिलिगन संलग्न छन्। नेपालमा यो फिल्मलाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा वितरण गर्ने भएका छन्।