काठमाडौं – कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।
धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक-पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध लेनदेनको कसुरमा मुद्दा दायर गरेको हो । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो ।
२०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाबाट आर्थिक अभाव भएको भन्दै धुर्मुस-सुन्तलीले हात झिकिसकेका छ भने यसका बाँकी काम भरतपुर महानगरपालिकाले जिम्मा लिएको छ ।