टोकियो – जापानमा जन्मदर पछिल्लो ९ वर्षदेखि लगातार घट्दो क्रममा छ । सन् २०२४ मा जापानमा जन्मिने बालबालिकाको संख्या अघिल्लो वर्षको तुलनामा घटेर ७ लाख २० हजार ९ सय ८८ पुगेको हो। यो लगातार नवौं वर्ष नयाँ न्यून कीर्तिमान रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यो संख्या, जसमा विदेशीहरू समेत समावेश छन्, अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले घटेको हो । ढिलो विवाह गर्ने प्रवृत्ति बढ्नुका साथै उच्च जीवनयापन खर्चका कारण बच्चा पाल्ने चिन्ता बढेकाले जन्मदर घटिरहेको बताइन्छ । सन् २०२४ मा मृत्यु दर भने २८ हजार १ सय ८१ ले वृद्धि भई १६ लाख १८ हजार ६८ सय ४ को नयाँ कीर्तिमानमा पुगेको छ । जन्मदरबाट मृत्यु दर घटाउँदा प्राकृतिक जनसंख्या घटावट ८ लाख ९७ हजार ६ सय ९६ रहेको छ, जुन अहिलेसम्मकै उच्च हो ।
जापानका ४७ वटै प्रिफेक्चरहरूमा अघिल्लो वर्षको तुलनामा जन्मदर घटेको छ । सरकारको पूर्वानुमानभन्दा पनि छिटो गतिमा जन्मदर घटिरहेको देखिएको छ, जसले यो प्रवृत्ति अझै रोकिने कुनै संकेत नदेखाएको जनाउँछ । सन् २०२४ मा विवाह गर्ने जोडीहरूको संख्या ४ लाख ९९ हजार ९ सय ९९ पुगेको छ, जुन सन् २०२३ को तुलनामा १० हजार ७ सय १८ ले वृद्धि भएको हो । सन् २०२३ मा यो संख्या ९० वर्षपछि पहिलो पटक ५ लाखभन्दा तल झरेको थियो । विवाह दरमा कोभिड-१९ महामारीको ठूलो प्रभाव परेको बताइन्छ ।
जापानी नागरिकहरूबाट जन्मिने बच्चाहरूको संख्या जुन महिनासम्म मन्त्रालयले सार्वजनिक गर्ने छ। यस संख्या पहिलो पटक ७ लाखभन्दा तल झर्ने अनुमान गरिएको छ । जबकि, जापानको राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थाले यो संख्या सन् २०३८ अघि नघट्ने पूर्वानुमान गरेको थियो ।