टोकियो – जापानको उत्तरपूर्वी क्षेत्रमा लागेको वन डढेलोले अझै नियन्त्रणमा आउन सकेको छैन । केन्द्रीय सरकारकाअनुसार डढेलोले ३० वर्षभन्दा लामो अवधिमा सबैभन्दा ठूलो क्षेत्रफल जलाएको छ । स्थानीय दमकलकर्मीहरू र आत्मरक्षा बल (एसडीएफ) का टोलीहरू आगो नियन्त्रण गर्न संघर्षरत छन् ।
स्थानीय अधिकारीहरूका अनुसार, इवाते प्रिफेक्चरको ओफुनातो क्षेत्रमा पछिल्ला तीन दिनमा कम्तीमा १,२०० हेक्टर क्षेत्र जलिसकेको छ । प्रधानमन्त्री शिगेरु इसिबाको सरकारले क्षतिको दायरा सीमित गर्न प्रयासहरू बढाएको छ । यो आगलागीले सन् १९९२ मा होक्काइडोको कुशिरो क्षेत्रमा लागेको १,०३० हेक्टर क्षेत्र जलाउने पहिलाको रेकर्डलाई पार गरिसकेको छ ।
आगलागी तथा प्रकोप व्यवस्थापन एजेन्सीकाअनुसार यसलाई सन् १९८९ देखि २०१९ सम्म रहेको हेइसेई युगयताकै सबैभन्दा ठूलो वन डढेलो मानिएको छ । बुधबारदेखि सुरु भएको यो डढेलोका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घर जलेका छन् ।
आगलागी नियन्त्रणका लागि खटिएका हेलिकप्टरहरूको संख्या १५ भन्दा बढी पुगेको छ । ठूला एसडीएफ विमानहरूको संख्या पनि दोब्बर पारिएको छ, जसले ठूला परिमाणमा पानी खसाल्न सक्छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको एजेन्सीले गुनमा, साइतामा र टोकियोलगायतका स्थानीय सरकारहरूसँग आपतकालीन सहायता अनुरोध गरेको छ, जसले गर्दा उद्धारमा संलग्न प्रिफेक्चरहरूको संख्या १० भन्दा बढी पुगेको छ ।