काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा उज्वेकिस्तानका चार जना नागरिकबाट बरामद भएको करिब पौने ४ किलो सुन भन्सार पास भइसकेको तथ्य खुलेको छ । भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा बुधबार साँझ शंका लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको अवस्थामा सो परिमाणमा सुन बरामद भएको हो ।
विमानस्थल भन्सार सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरूमध्ये तीन जना महिला र एक पुरुष छन् । उनीहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ । राठौरले नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरूको मलद्वारबाट सुनको टुक्रा बरामद गरिएको हो ।
तस्करी समूहले उनीहरूलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ । अहिले विमानस्थलमा प्रमुख भन्सार प्रशासक पद रिक्त छ । प्रमुख प्रशासक महेश बराललाई सरुवा गरे पनि अर्को व्यक्ति पठाइएको छैन ।
प्रहरीका अनुसार दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । उक्त अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विमानस्थलको सुरक्षा जाँच पास हुँदै बाहिरिए । अध्यागमनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई कुनै शंकास्पद वस्तु बरामद भएन ।
जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर आए, त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । प्रहरीको टर्मिनल गेटमा चार उज्बेकिस्तानी नागरिक आइपुगे, त्यसपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट सुन बरामद गरेको छ । सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारको डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्याएको देखिएको छ ।
चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले अनुमान छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन । एसएसपी राठौरका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया र एक पुरुष भने मालिक रहेको देखिएको छ ।