समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने योजनासहित उर्जामन्त्री दीपक खड्का अघि बढेका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा विदेशमा रहेकाले केही दिन पर्खिरहेका मन्त्री खड्काले, उनी स्वदेश फर्किने बित्तिकै भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमति लिएर मन्त्री खड्काले कुलमान हटाउने प्रक्रिया अघि बढाएको खुलेको छ। तर, उर्जा मन्त्रालयकै राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने कुलमानको पक्षमा उभिँदै उनलाई कुनै हालतमा हटाउन नहुने अडान लिएका छन्। तामाङले सार्वजनिक रूपमा कुलमानको नेतृत्वको प्रशंसा गर्दै उनको निरन्तरताका लागि आवाज उठाएका छन्। जसका कारण मन्त्री खड्कासँग उनको सम्बन्ध चिसिएको छ।
मन्त्री खड्काले आगामी मन्त्रिपरिषद् बैठकमा कुलमानलाई हटाउने प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। यसअघि उनले परराष्ट्रमन्त्री राणासँग भेटेर यस विषयमा अन्तिम परामर्श गरेका छन्। सरकारले कुलमानको ठाउँमा अर्जुन कार्कीलाई ल्याउने योजना बनाएको छ। हाल कार्की बालुवाटार र बुढानिलकण्ठमा सक्रिय देखिएका छन्, जसलाई कांग्रेस र एमाले दुवै नेतृत्वको समर्थन रहेको चर्चा छ।