समाचार सुन्नुहोस :
काठमाडौँ – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पका कारण एक जना घाइते भएका छन्। बिहान २:५१ मा गएको भूकम्पका बेला कारागारमा रहेका एक कैदी आत्तिएर भाग्ने क्रममा लडेपछि उनको दाहिने हातमा चोट लागेको हो। चौतारा अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।
भूकम्पका कारण भोटेकोशी गाउँपालिका–स्थित तुसारे क्षेत्रमा सुख्खा पहिरो गएको छ। सो क्षेत्रमा मानव बस्ती नभएकाले कुनै जनधनको क्षति नभएको प्रशासन कार्यालयले जनाएको छ। भूकम्पको असरले भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भई अनुगमन जारी राखिएको छ। हाल जिल्लाको अवस्था सामान्य रहेको छ।
यसैबीच, प्रशासनले भूकम्पका कारण केही स्थानमा सुख्खा पहिरो जान सक्ने तथा सडकमा ढुंगा खस्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। कुनै पनि क्षति वा जोखिमसम्बन्धी जानकारी भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न समेत अनुरोध गरिएको छ। साथै, भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।