काठमाडौं – टिकट महँगो भएकै बेला राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका विमानहरू ‘ग्राउन्डेड’ भएका छन् । निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरू ग्राउन्डेड हुँदा विदेश यात्रा गर्ने हजारौँ नेपालीहरू प्रभावित भएका हुन् ।
ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीहरूले निगमका विमानहरू नउड्दा ठूलो असर परेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्यका कारण सञ्चालन समय सीमित पारिएपछि उडानहरू कटौती गरिएका छन् । यसको प्रत्यक्ष असर हवाई भाडामा परेको छ, जसका कारण भाडादर महँगो हुनुका साथै टिकट पाउनसमेत कठिन भएको छ ।
नेपाल वायुसेवा निगमका चारमध्ये तीन विमानहरू प्राविधिक कारणले ग्राउन्डेड हुँदा स्थिति झन् जटिल बनेको व्यवसायीहरूको गुनासो छ । निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । तर, हाल दुवै न्यारोबडी र एउटा वाइडबडी ग्राउन्डेड भएका छन् । विमानहरू बिग्रँदा हजारौँ यात्रुहरू अलपत्र परेका छन्, जसलाई अन्य जहाजबाट गन्तव्यमा पठाउने प्रयास भइरहेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एउटा वाइडबडी जहाज उडानका लागि तयार भइसकेको छ भने अन्य दुई न्यारोबडी जहाजहरू पनि चाँडै सञ्चालनमा आउनेछन् । विभिन्न देशका १० गन्तव्यमा उडान गर्ने निगमका ती चारमध्ये दुवै न्यारोबडी र एउटा वाइडबडी गरी तीन जहाजहरू यसै साताको सुरुदेखि ‘ग्राउन्डेड’ भएको हुन् ।
यात्रुहरूले टिकट पाउन नसक्दा भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्ति बढेको छ । नेपाल असोसिएशन अफ टूर्स एन्ड ट्राभल्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाका अनुसार गत कात्तिकदेखि हालसम्म करिब ५५ हजार नेपालीहरू भारतीय विमानस्थल हुँदै विदेश गएका छन् । भारतीय उडान सस्तो हुने भएकाले यस्तो प्रवृत्ति बढेको बताइएको छ ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भारतीय मार्ग असुरक्षित भए पनि सरकारले यसतर्फ चासो नदेखाएको बताएका छन् । नेपाल वायुसेवा निगमले बजारमा हस्तक्षेप गरी उडान सहज बनाउनुपर्नेमा उल्टै विमानहरू ग्राउन्डेड हुँदा यात्रुहरू अन्य मार्ग अपनाउन बाध्य भएका छन् ।
व्यवसायीहरूले भैरहवा र पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भए समस्या कम हुने बताएका छन् । हाल भैरहवाबाट केही अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन भए पनि पर्याप्त छैनन् भने पोखराबाट अझै नियमित उडान हुन सकेको छैन । सरकारले प्रदान गरिएका छुट सुविधाहरूका बावजुद अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू नेपालका नयाँ विमानस्थलहरूबाट उडान गर्न उत्साहित नदेखिएको हो ।
निगमले यात्रुसँग माफी माग्यो
एक सातायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा नेपाल वायुसेवा निगमले क्षमा याचना गरेको छ । निगमका तीनवटा जहाज ‘ग्राउन्डेड’ भई सयौं यात्रु अलपत्र परेको घटनामा छानबिन गर्न समिति बनाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
‘प्राविधिक समस्याका कारण सिर्जना भएको यस कठिन परिस्थितिमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति निगम क्षमायाचना गर्दछ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यात्रुहरुको सुविधालाई ध्यानमा राखेर आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवामार्फत गन्तव्यमा पुर्याइदिने कार्य भइरहेको छ ।’