काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुर्याएको छ । शुक्रबार बिहान २ः५१ बजे गएको भूकम्पको झड्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार हालसम्म मानवीय क्षतिको कुनै ठोस विवरण आएको छैन । तर, भूकम्पको कारण आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस घटनाबाहेक अन्य गम्भीर क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।
भूकम्पका कारण जिल्लाका केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ । विशेषगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको पुष्टि भएको छ । प्रहरी जवानहरू बस्ने भवनको भित्ता सामान्य रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् ।
त्यस्तै, भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढी क्षेत्रमा पहिरो खसेको छ । यस क्षेत्रको स्थलगत निरीक्षण गरी थप विवरण संकलन गरिने स्थानीय प्रशासनले जनाएको छ । हालसम्म ठूला घरहरूमा कुनै गम्भीर क्षति भएको खबर प्राप्त भएको छैन ।
जिल्ला प्रशासन कार्यालयले मातहतका सबै निकायलाई क्षति विवरण संकलन गर्न निर्देशन दिएको छ । प्रहरी र स्थानीय प्रशासन क्षेत्रीय अनुगमनमा खटिएका छन् । भूकम्पका थप झड्का आउने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।
यसअघि पनि सिन्धुपाल्चोकमा ठूला भूकम्पहरू गएका कारण यहाँका नागरिक भूकम्पका घटनाप्रति सचेत छन् । हालको भूकम्पको प्रभावबारे थप जानकारी सङ्कलन भएसँगै स्थानीय प्रशासन आवश्यक कदम चाल्ने तयारीमा रहेको छ ।
यस भूकम्पले कुनै ठूलो जनधनको क्षति पुर्याएको छैन भने पनि सावधानी अपनाउनुपर्ने भन्दै प्रशासनले नागरिकहरूलाई अनावश्यक त्रास नमान्न अनुरोध गरेको छ ।