काठमाडौं – नेपाल वायुसेवा निगमका तीनवटा जहाज ग्राउन्डेड भएका कारण हजारौं यात्रु समस्यामा परेका छन् । यात्रु आवागमन उच्च हुने समयमा निगमका दुई न्यरोबडी र एक वाइडबडी विमान ग्राउन्डेड हुँदा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका उडान रद्द भएका छन् ।
निगमको मार्केटिङ विभागका अनुसार, मुम्बई, बैंगलोर, क्वालालम्पुर, दोहा, दमामलगायतका गन्तव्यमा जानुपर्ने उडानहरू अन्तिम समयमा रद्द भएका कारण करिब २ हजार यात्रु प्रभावित भएका छन् । निगमका अधिकारीहरूले यात्रुहरूको व्यवस्थापन गर्न होटलमा राख्ने वा अन्य वायुसेवामार्फत गन्तव्यमा पठाउने प्रयास गरिरहेको बताएका छन् । तर, निगमका उच्च अधिकारीहरू स्वयं पनि यात्रु र ट्राभल एजेन्सीका फोन उठाउन असमर्थ रहेको बताएका छन् ।
निगमसँग चारवटा अन्तर्राष्ट्रिय जेट विमान रहेका छन्, जसमा १५७ सिट क्षमताका दुई एयरबस ए३२० न्यरोबडी र २७४ सिट क्षमताका दुई एयरबस ए३३० वाइडबडी विमान छन् । तर, एक सातायता तीमध्ये तीन विमान बारम्बार प्राविधिक समस्याका कारण ग्राउन्डेड भइरहेका छन् । चीनमा सीचेक पूरा भएर फर्कनुपर्ने सगरमाथा नामक न्यरोबडी भुक्तानी विवादका कारण चीनमै रोकिएको छ ।
लुम्बिनी नामक न्यरोबडीको अगाडिको पाङ्ग्रामा समस्या देखिएपछि दमाममा ग्राउन्डेड भएको थियो, जसलाई मर्मत गरेर काठमाडौं ल्याए पनि पुन: समस्या देखिएकाले दिल्ली पठाउने तयारी गरिएको छ । वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका क्रममा रोकिएको थियो । मर्मतपछि काठमाडौं ल्याइए पनि इन्धनसम्बन्धी नयाँ समस्या देखिएपछि फेरि ग्राउन्डेड गरिएको छ । अब निगमसँग एउटामात्र वाइडबडी विमान सञ्चालनमा रहेको छ ।
सीचेकका लागि माघमा चीन पठाइएको सगरमाथा नामक न्यरोबडी मर्मत भइसकेको भए पनि भुक्तानीसम्बन्धी विवादका कारण एक सातादेखि चीनमै अड्किएको छ । कतिपय यात्रुहरू घर फर्किएका छन् भने कतिपयलाई अन्य वायुसेवामार्फत गन्तव्यमा पठाउने प्रयास भइरहेको छ । तर, विकल्प सहज उपलब्ध नभएकाले समस्या झन् जटिल बनेको छ ।