टोकियो – आगामी मार्च २ तारिखका दिन जापानको राजधानी टोकियोमा आयोजना हुने प्रतिष्ठित टोकियो म्याराथन २०२५ मा नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने १० जना नेपाली धावकले सहभागिता जनाउने भएका छन् । नेपाल, अमेरिका, बेलायत र मकाउबाट प्रतिनिधित्व गर्ने यी धावकहरू विश्वस्तरीय प्रतिस्पर्धामा आफ्नो दमखम देखाउन तयार भएका हुन् ।
नेपालबाट जुम्लारारा आईअल्टीच्युट अल्ट्रा लगायतका म्याराथनहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका धावक शम्भु दाहाल, मकाउका विरु राई, अमेरिकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जीत बुढा मगरले टोकियो म्याराथनमा सहभागिता जनाउने निश्चित भएको छ । त्यस्तै, बेलायतबाट विश्वका विभिन्न म्याराथन प्रतियोगितामा सहभागिता जनाइसकेका आत्मराम दाहाल, अनु सिग्देल, प्रतिक गौचन, नारायण पन्त र सागर गुरुङ पनि यसपटक टोकियो म्याराथनमा दौडनेछन् ।
यस वर्षको प्रतियोगितामा नेपाली समुदायसँग निकट रहेका दुई भारतीय धावक ऋषि अत्री र कुष्ण अत्रीले पनि सहभागिता जनाउँदैछन् । नेपाल रन यूकेका संस्थापकसमेत रहेका धावक आत्मराम दाहालका अनुसार पहिलोपटक ठूलो संख्यामा नेपाली धावकहरूले टोकियो म्याराथनमा सहभागिता जनाउन लागेका हुन् । यो म्याराथनमा गोलाप्रथा तथा प्रायोजकको सिफारिसका आधारमा मात्र सहभागिता सुनिश्चित गर्न सकिन्छ । हजारौं धावकहरू प्रतिस्पर्धा गर्ने यस म्याराथनमा नेपाली खेलाडीहरूले आफ्नो उच्च क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
टोकियो म्याराथन २०२५ सिन्जुकु सहरबाट सुरु हुनेछ । प्रतिस्पर्धा अन्तर्गत १० किलोमिटर छोटो दुरी र ४२ किलोमिटर लामो म्याराथन हुनेछ, जसको अन्तिम गन्तव्य टोकियो स्टेशन हुनेछ। सबै नेपाली धावकहरूले ४२ किलोमिटरको मुख्य म्याराथन दौडमा भाग लिने छन् ।
हौसला प्रदान गर्न अपिल
प्रतियोगितामा सहभागी हुने नेपाली धावकहरूले जापानमा बसोबास गर्ने नेपाली समुदायलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् । विशेष गरी सिन्जुकु, आकिहावारा, आसाकुसा, गिन्जा, सिनागावा हुँदै टोकियो स्टेशनसम्मको मार्गमा नेपाली झण्डासहित उपस्थिति जनाएर हौसला दिन अनुरोध गरिएको हो ।
धावक आत्मराम दाहालका अनुसार, ‘सिन्जुकुबाट दौड सुरू हुने भएकाले त्यहाँ भीड अत्यधिक हुन्छ । नेपाली झण्डासहित उपस्थित भए हामीमा अलग्गै उर्जा थपिनेछ ।’ म्याराथनमा नेपाली धावकहरूको सहभागिता खेल क्षेत्रमा नेपालको पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।