टोकियो – पहिलो पटक जापानमा निर्माण गरिएको नेपाली चलचित्र ‘संकल्प’ १३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (13th Nepal Africa International Film Festival) ‘नाइफ’-२०२५ को फाइनलमा छनोट हुन सफल भएको छ ।
विलक्षण क्रियसन प्रा. लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजनामा तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा महोत्सव यही फागुन ९ गतेदेखि ११ गते (फेब्रुअरी २१-२३) सम्म नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना हुँदैछ । महोत्सवको राष्ट्रिय प्रतिस्पर्धामा यस वर्ष २८ वटा लामा र छोटा चलचित्र फाइनलका लागि छनोट भएका छन् । महोत्सवमा प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरूमध्ये निर्णायक टिमले ७ वटा चलचित्रलाई फाइनलका लागि छनोट गरेको छ । जुन निम्नानुसार छन् :-
- तेल भिसा – निर्देशक: शंकर घिमिरे
- द्रौपदी – निर्देशक: ऋषिराज आचार्य
- छक्का पञ्जा ५ – निर्देशक: दीपाश्री निरौला
- चिठ्ठी – निर्देशक: माधवराज खरेल
- लन्डन टु पेरिस – निर्देशक: घनश्याम लामिछाने
- औचो पैँचो – निर्देशक: कृषा चौलागाई
- संकल्प – निर्देशक: विनोद बुढाथोकी
‘संकल्प’ पहिलो पटक जापानमा निर्माण गरिएको नेपाली चलचित्र हो । चलचित्रमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नो परिश्रम, जापानीहरूका अनुशासन र मेहनतबाट प्रभावित भई नेपालमै सीप र ज्ञान प्रयोग गर्ने संकल्पको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा जापानमा भेटिएका मुख्य पात्रहरूको अन्तर्कथा, समर्पण तथा संघर्षलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । चलचित्र संकल्पबाट Best Actor Debur मिलन तामाङ, Best Actress Debut अनुस्का बुढाथोकी र Best Director विनोद बुढाथोकी प्रतिस्पर्धामा फाइनलको लागि चयन हुन सफल भएका छन् ।
चलचित्रको गीत-संगीत प्रांजल तिम्सिना र सञ्जीव पुडासैनीले तयार गरेका छन् । छायांकन तथा सम्पादन खगेन्द्र मल्ल ठकुरीले गरेका छन् भने निर्मात्री गीता बुढाथोकी हुन् । चलचित्रको केही भाग जापानको नागोया सहरस्थित तोकाई बाटिका इन्टरनेशनल स्कूलमा छायांकन गरिएको हो ।
चलचित्र निर्देशक विनोद बुढाथोकीले ‘संकल्प’ चलचित्र फाइनलमा छनोट हुँदा अत्यन्तै खुसी लागेको बताए । महोत्सवमा ‘संकल्प’ चलचित्रमा टिचरको भूमिकामा रहेका अतिथि कलाकार तथा तोकाई बाटिका इन्टरनेशनल स्कूलका प्रमुख सञ्चालक डा. सुदीप अधिकारी पनि विशेष रूपमा उपस्थित हुने जनाइएको छ । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फाइनलसम्म पुग्न सफल ‘संकल्प’ले अवार्ड जित्ने आशा गरिएको छ ।