टोकियो – जापानमा निजी चामल आयात हालै कीर्तिमानी रूपमा ४ सय ६८ टन पुगेको छ। मार्चसम्मको चालू आर्थिक वर्षमा यो वृद्धिको मुख्य कारण रेस्टुरेन्टहरूबाट बढ्दो माग रहेको छ, किनभने स्वदेशी चामलको मूल्य उच्च दरले वृद्धि भएको छ ।
कृषि मन्त्रालयले तथ्यांक सङ्कलन गर्न थालेको आर्थिक वर्ष २०१९ यता पहिलो पटक अप्रिलदेखि डिसेम्बरसम्मको आयात मात्रा उच्च रहेको छ । यो ६५ लाख कटोरा पकाइएको भातबराबर छ । पछिल्ला वर्षहरूमा कम्पनीहरूले वार्षिक रूपमा आयात गर्ने ३ सय ५० देखि ४ सय ५० टनको तुलनामा बढी हो ।
निजी क्षेत्रबाट गरिएको चामल आयातबाहेक, जापानी सरकारले १९९३ को उरुग्वे राउन्ड कृषि व्यापार सम्झौता अन्तर्गत मुख्यत: संयुक्त राज्य अमेरिका, चीन, र थाइल्यान्डबाट करिब ७ लाख ७० हजार टन चामल आयात गरेको छ । सरकारले नियन्त्रण गरेको उक्त भन्सार-रहित आयातमध्ये निजी क्षेत्रका लागि खानेकुरा प्रयोजनका लागि तोकिएको १ लाख टन चामल सात वर्षपछि पहिलो पटक पूर्ण रूपमा बिक्री भएको छ ।
सन् २०२४ मा चामलको मूल्य वार्षिक रूपमा २७.७ प्रतिशतले वृद्धि भयो, जुन १९७५ यताकै सबैभन्दा ठूलो वृद्धि हो । उत्पादन लागत बढ्नु र आपूर्ति कम हुनु यसको मुख्य कारण मानिएको छ । डिसेम्बर महिनामा मात्रै चामलको मूल्य वार्षिक रूपमा ६४.५ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रबाट चामल आयात गर्ने जापानको एक प्रमुख व्यापार कम्पनीका अधिकारीका अनुसार रेस्टुरेन्ट क्षेत्रमा यसको माग उच्च छ । मात्सुया बिफ बाउल चेनका एक अधिकारीले भने, ‘स्थिर आपूर्ति हुनु एकदमै आवश्यक छ ।’