टोकियो – जापान सरकारले मूल्यवृद्धि रोक्न सञ्चित चामल बजारमा पठाउने भएको छ । बढिरहेको चामलको मूल्यलाई सन्तुलित बनाउन २ लाख १० हजार टन सञ्चित चामल बजारमा पठाउने निर्णय गरेको हो ।
कृषि मन्त्री ताकु एटोले चामलको सहज आपूर्तिलाई सुनिश्चित गर्न यो कदम चालिएको बताए । मन्त्री एटोले चामलको मूल्यमा आएको हालको वृद्धिलाई अस्वाभाविक भन्दै पहिलोपटक सञ्चालन गर्न लागिएको यो योजना बजारलाई सामान्य अवस्थामा फर्काउने आशा रहेको बताए । बोलपत्र प्रक्रिया पूरा भएपछि सञ्चित चामल मार्चको मध्यसम्ममा थोक व्यापारीहरूलाई हस्तान्तरण गरिनेछ ।
पहिलो चरणमा १ लाख ५० हजार टन चामल वितरण गरिने योजना छ । कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार वितरण गरिने चामल मुख्य रूपमा गत वर्षको उत्पादनबाट हुनेछ भने केही चामल २०२३ सालको पनि समावेश गरिनेछ ।
जापानमा उपभोक्ता मूल्य सूचकांकअनुसार चामलको मूल्य डिसेम्बर महिनामा अघिल्लो वर्षको तुलनामा ६४.५ प्रतिशतले बढेको थियो, जुन सन् १९७१ यताकै सबैभन्दा ठूलो वृद्धिदर हो । सन् २०२४ मा उत्पादन भएको र थोक व्यापारीलाई आपूर्ति गरिने खैरो चामलको औसत मूल्य २३ हजार ७ सय १५ येन प्रति ६० किलोग्राम पुगेको छ, जुन १९९० यताकै उच्च मूल्य हो ।
सन् २०२३ को गर्मी मौसममा उच्च तापक्रमका कारण चामलको उत्पादन कमजोर हुँदा बजारमा आपूर्तिमा कमी आएको थियो । साथै, विदेशी पर्यटकहरूको संख्या तीव्र रूपमा बढेपछि रेस्टुरेन्टहरूमा चामलको खपतसमेत उल्लेखनीय रूपमा बढेको छ ।