टोकियो – निगाता प्रिफेक्चरको मुराकामी सिटी प्रहरीले एक ५३ वर्षीय पुरुषलाई मन्दिरको दानबक्सबाट नगद चोरी गरेको आशंकामा पक्राउ गरेको छ । प्रहरीले बताएअनुसार उक्त पुरुषले देशभरका सातवटा प्रिफेक्चरका मन्दिरहरूमा यस्तै चोरीहरू गरेको स्वीकार गरेका छन् ।
निगाता ब्रडकास्टिङ कर्पोरेशनका अनुसार, ती पुरुष, जो बेरोजगार छन् र जसको स्थायी ठेगाना छैन, उनलाई गएको वर्ष अक्टोबर महिनामा निगाताको मुराकामी सिटीस्थित एक मन्दिरको दानबक्सबाट करिब ३५ हजार येन नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो ।
अनुसन्धानको क्रममा उनले २०२२ को सेप्टेम्बरदेखि गएको वर्षको अक्टोबरसम्म निगाता, टोकियो, साइतामा, चिबा, यामानाशी, गिफु र मिए प्रिफेक्चरका विभिन्न मन्दिरहरूबाट चन्दाका रूपमा संकलित रकम चोरेको खुलासा भएको छ ।
प्रहरीका अनुसार, ती व्यक्तिले केवल नगद मात्र होइन, कतिपय अवस्थामा दानबक्स नै चोरी गरेका थिए। चोरीबाट भएको कुल क्षति करिब २.१ मिलियन येन रहेको छ, जसमा करिब ७ लाख ५० हजार येन नगद र करिब १.३५ मिलियन येन बराबरका दानबक्स तथा अन्य सामग्रीहरू छन् । प्रहरीका अनुसार, ती व्यक्तिले हालसम्म ५८ वटा चोरीका घटनाहरू स्वीकार गरेका छन् ।