काठमाडौं – चर्चित गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाबीचको वैवाहिक सम्बन्ध कानुनी रूपमा टुंगिएको छ । काठमाडौं जिल्ला अदालतको फैसलासँगै उनीहरूले अलग हुने निर्णय गरेका हुन् ।
सम्बन्धविच्छेदपछि चौहानले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् भावनात्मक स्ट्याटस लेख्दै विवाह केवल सामाजिक तथा कानुनी बन्धन मात्र नभई विश्वास, समझदारी र भावनात्मक एकतामा आधारित हुनुपर्ने उल्लेख गरिन् । उनले लेखेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ ।’
फेसबुक स्ट्याटसको सुरुवात उनले प्रिय विष्णु भन्दै गरेकी छिन् । वैवाहिक सम्बन्धका सम्झनाहरू उल्लेख गर्दै उनले लेखेकी छन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र पनि उस्तै छ ।’
तर, यो निर्णय रहरले नभई बाध्यतामा लिइएको उनले प्रष्ट्याएकी छन् । ‘जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ भन्दै उनले सम्बन्धविच्छेद सहज नभएको संकेत गरेकी छन् ।
सम्बन्धविच्छेदसँगै चौहानले पतिका रूपमा विष्णुसँग आफूले पाउने कानुनी सम्पत्तिमा कुनै दाबी नगर्ने बताएकी छन् । उनले विष्णुको प्रगति र उन्नतिको कामना गर्दै आफ्नो बाटो अलग गरेकी हुन् ।