टोकियो – जापानमा दशकौंदेखि प्रचलनमा रहेको सेतो पोस्ट ‘white post’ भनेर चिनिने एउटा अनौठो अश्लील सामग्री संकलन प्रणाली (ड्रप बक्सहरू) अब लोप हुँदैछन् । यी बक्सहरू सार्वजनिक स्थानमा पोर्नोग्राफी फैलन नदिन र युवाहरूलाई अश्लील सामग्रीबाट बचाउनको लागि सार्वजनिक ठाउँमा राखिएका थिए । तर, अहिले इन्टरनेटको प्रयोग बढेपछि यी बक्सहरूको प्रयोग घट्दै गएको हो ।
मुख्य रूपमा रेलवे स्टेशनहरू बाहिर राखिएका यी बाकसहरूमा मानिसहरूले ‘अश्लील पुस्तकहरू’ डीभीडीहरू, तथा अन्य आपत्तिजनक सामग्रीहरू हाल्ने गर्थे । तर, अहिले डिजिटल माध्यम लोकप्रिय हुँदै गएपछि ‘सेतो पोस्ट’ बाकसहरू विस्तारै अप्रचलित बन्दै गएका छन् । यद्यपि केही नगरपालिकाहरूमा यी बाकसहरू अझै प्रयोगमा छन् । समाज बाहिरबाट सफा देखिए पनि स्मार्टफोनको माध्यमबाट मानिसहरू अझै अश्लील सामग्रीहरूको सम्पर्कमा आइरहेको विज्ञहरुको ठहर छ ।
गत अक्टोबरमा जापानको फुकुओका प्रान्तको नाकागावा सहरमा, नगरपालिकाका एक कर्मचारीले एउटा ‘सेतो पोस्ट’ बाकस खोलेर एक पुस्तक र एउटा डीभीडी निकाले । सोही दिन उनले आठ बाकसबाट १६ वटा पुस्तक र ८१ वटा डीभीडी संकलन गरे । १२ वर्षदेखि यो काम गरिरहेका ७३ वर्षीय काजुहिडे इनोउएका अनुसार यी बाकसहरू अहिले पनि उपयोगी छन् । ‘पहिले यस्ता अश्लील सामग्रीहरू सडकमा नै फालिने गर्थे,’ इनोउे भन्छन्, ‘संख्या घटे पनि यी बाकसहरूले अझै महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।’
७१ वर्षीय एक ट्याक्सी चालकका अनुसार, ‘रातिको समयमा, जब सडकहरू शान्त हुन्छन्, युवादेखि वृद्धसम्मका मानिसहरू आफ्ना सामग्री फाल्न आउँछन् ।’ केही क्षेत्रमा भने यी बाकसहरू अझै पनि आवश्यक मानिएको छ । सन् २०१८ मा मात्रै केन्द्रीय जापानको फुकुइ सहरमा थप दुई नयाँ बाकस स्थापना गरिएको थियो ।
सेतो पोस्ट बाकसको इतिहास
टोकियो केइजाइ विश्वविद्यालयका समाजशास्त्रकी प्राध्यापक युको ओबीका अनुसार पहिलो ‘सेतो पोस्ट’ बाकस १९६३ मा ह्योगो प्रान्तको अमागासाकी सहरमा राखिएको थियो । उद्देश्य भनेको युवाहरूको ‘स्वस्थ मानसिक विकास’ सुनिश्चित गर्नु थियो । त्यसपछि, यी बाकसहरू देशभर फैलिन थाले ।
१९८० को दशकमा फिजिकल मिडिया भिडियोमा रूपान्तरित भएपछि तिनै सामग्रीहरू बाकसमा हालिन थालियो । त्यसपछि डीभीडीहरू चल्तीमा आए, अनि मानिसहरूले ती पनि त्यहाँ फाल्न थाले । टोकियो सहरले भने सोही समयमा यी बाकसहरू हटाउने निर्णय गर्यो । यद्यपि, इन्टरनेटको विकाससँगै अश्लील म्यागजिनको बिक्री घट्दै गयो । ‘अन्तिम दशकमा यी बाकसहरू तीव्र रूपमा हटाइएका छन्, किनकि त्यहाँ जम्मा हुने सामग्रीको संख्यामा गिरावट आएको छ,’ ओबीले भने, ‘ती बाकसहरूको मर्मत खर्च पनि महँगो हुँदै गएको छ ।’
नागासाकी सहरले गत वर्ष परीक्षणस्वरूप केही ‘सेतो पोस्ट’ बाकसहरू बन्द गर्यो । सहरका बाल संरक्षण केन्द्रका निर्देशक कुनीहारु कावागुचीका अनुसार, २०१० को दशकमा वार्षिक रूपमा ५ हजार देखि ६ हजार सामग्री संकलन गरिन्थ्यो, तर अहिले त्यो संख्या झरेर २ हजारमा झरेको छ । ‘अहिलेसम्म बाकसहरू हटाउँदाको कुनै उल्लेखनीय असर देखिएको छैन, तर हामी समयअनुसार नयाँ उपायहरू खोज्नुपर्नेछ,’ उनले भने ।
ओबीका अनुसार, अहिले केही स्थानीय निकायहरूले यी बाकसहरूलाई ‘पूरा भएको’ परियोजना ठानेर हटाउने निर्णय लिएका छन् । उनले अगाडि भने, ‘केही क्षेत्रहरूले सेतो पोस्ट बक्सहरू हटाउने निर्णय गरेका छन्, तर केही ठाउँहरूमा यी बक्सहरू अझै प्रभावकारी मानिन्छन् ।’
अब समाज सफा राख्ने अभियानको प्रमुख मोर्चा अनलाइन अश्लील सामग्री नियन्त्रणमा सरेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २०२३ मा बाल यौन शोषणका १ हजार ४ सय ४४ घटना दर्ता भएका थिए । तिनमध्ये ३० प्रतिशतभन्दा बढी घटनामा पीडितहरूले नै आफ्नो नग्न तस्बिर अनलाइन अपलोड गरेका थिए । ‘हामीलाई हानिकारक जानकारी हटाउने मात्र होइन, अनलाइन पीडित भएका बालबालिकाहरूलाई सहयोग पुर्याउने र यौन शिक्षा सुधार गर्ने प्रणाली स्थापित गर्न आवश्यक छ,’ विज्ञहरू भन्छन् । –क्योदोको सहयोगमा